
सभामुखका प्रमुख ४ दाबेदार !
काठमाडाैं – प्रतिनिधिसभाको सभामुख नेकपा एमालेले पाउने निश्चित भएको छ। तर सभामुखमा चारजना आकांक्षी देखिएका छन्। एमालेका छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र विद्या भट्टराईको नाम अहिले चर्चामा छ। यीमध्ये पन्त समानुपातिक तर्फबाट निर्वाचित हुन् भने अन्य तीनजना प्रत्यक्ष निर्वाचित हुन्।
चारैजनाले सभामुख दाबी गरे पनि अन्तिममा कसलाई सभामुख बनाउने भन्ने टुंगो अहिल्यै नलाग्ने स्रोतले बतायो। राष्ट्रपतिको टुंगो लगाएपछि मात्र सभामुखको टुंगो लगाउने गरी काम भइरहेको एक नेताले बताए।
एमाले–माओवादीको सहमतिबमोजिम आधाआधा कार्यकाल अर्थात् साढे दुई वर्षका दरले पाँच वर्षमा दुई पार्टीबाट सभामुख बन्ने सहमति भएको छ। पहिलो कार्यकाल एमालेलाई परेको छ। सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने व्यवस्था छ भने सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संविधानमा उल्लेख छ। सबै पक्षलाई हेरेर सभामुखको निर्वाचन हुनेछ। संसद्को अधिवेशन पुस २५ गते आह्वान भइसकेको छ। पहिलो बैठक ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा हुनेछ।
उनले सभामुखको निर्वाचन भएपछि मात्र आफ्नो पद छाड्नेछन्। उपसभामुखको निर्वाचन नयाँ सभामुखले गर्नेछन्। -नागरिक दैनिक



कागजपत्र |
