किराना पसलबाट लागूऔषध चरेस फेला, एक जना पक्राउ


दार्चुला – दार्चुलाको महाकाली नगरपालिका-४ बंगाबगडस्थित एक किराना पसलबाट लागूऔषध चरेससहित एक जना पक्राउ परेका छन् ।

बंगाबगडमा रहेको महादेव किराना पसलबाट तीन किलो आठसय ग्राम चरेससहित किराना पसलका सञ्चालक वीरसिंह लोथ्याल पक्राउ परेको प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीले जानकारी दिए ।

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक गोविन्द भण्डारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा महादेव किराना पसलबाट तीन किलो आठसय ग्राम चरेसजस्तो पदार्थ बरामद गरेको हो ।

चरेसजस्तो पदार्थ बरामद भएसँगै प्रहरीले किराना पसलका सञ्चालक दुहुँ गाउँपालिका-४ पोक्से घर भएका ७३ वर्षीय लोथ्याललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले बुधबार पत्रकार सम्मेलन गरी चरेसजस्तो देखिने लागुऔषध र प्रतिवादी लोथ्याललाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया