

मोरङ-६ को चुनावी मैदानमा पुरानै प्रतिस्पर्धा, शेखर र लालबाबुको भेट

विराटनगर – कांग्रेस नेता डा. शेखर कोइरालालाई ५ वर्षअघि प्रतिनिधिसभा सदस्य हुनका तगारो बनेका लालबाबु पण्डित आगामी निर्वाचनमा पनि उनैसँग प्रतिस्पर्धामा उत्रिएका छन्। अर्थात चुनावको पुरानै मैदानमा ५ वर्षपछि शेखर र लालबाबुको भेट भएको छ।
फेरिएको राजनीतिक परिवेशमा एकअर्काका प्रतिस्पर्धी बनेर प्रतिनिधिसभा सदस्य बन्ने दौडमा दोस्रोपटक आमनेसामने भएका उनीहरू अहिले मतदाता भेटघाट, घरदैलो, कोणसभा लगायतका चुनाव लक्षित कार्यक्रममा व्यस्त छन्।
मोरङको निर्वाचन क्षेत्र नम्बर-६ बाट २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा लड्दा शेखरलाई ६५७ मतान्तरले रोक्दै लालबाबु विजयी भएका थिए। लालबाबुले ३३ हजार ९४१ र शेखरले कोइरालाले ३३ हजार २६६ मत पाए। निर्वाचनमा एमाले नेता लालबाबु हाबी हुँदा शेखर प्रतिनिधिसभामा पुग्न पाएनन्।
पार्टीभित्रको आन्तरिक द्वन्द्व र असन्तुष्टि, एमाले र माओवादी मिलेर बनेको बाम गठबन्धन, राष्ट्रियस्तरमा पण्डितको चुलिएको लोकप्रियता लगायतका कारणले त्यतिबेलाको निर्वाचन परिणाम शेखरको विपक्षमा आइदियो।
शेखर ५ वर्षअघि बेहोरेको हारको बदला लिने तयारीका साथ चुनावको प्रचारप्रसार गरिरहेका छन्। लालबाबु फेरि पनि उनलाई रोकेर आफू सांसद बन्ने होडमा छन्।

