कोरोनाले खेलकूदमा असर


बागलुङ – कोरोना महामारी नियन्त्रणका लागि भएको बन्दाबन्दीका कारण बागलुङमा खेलकूदका गतिविधिमा प्रभाव परेको छ । यहाँका स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने गरेका खेलकूदका गतिविधि हुन नसकेका हुन् ।

बागलुङ नगरपालिकाले आयोजना गर्ने ‘मेयर कप फुटबल’ प्रतियोगिताको तेस्रो संस्करण यस वर्ष हुनुपर्नेमा कोरोना महामारीका कारण नहुने भएको छ । नेपाल सरकारले खेलकूद प्रतियोगिता गर्न खुल्ला गरे पनि बागलुङ नगरपालिकाले कोरोनाको कारण नै प्रतियोगिता गर्न नसकिएको बताएको छ ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले प्रतियोगिता गर्न महामारी फैलिने त्रास कायमै रहेको बताए । उनले नगरपालिकाले शहीद दिवसको अवसर पारेर आयोजना गर्ने प्रतियोगिताको मिति नजिकिए पनि यस वर्ष गर्न नसकिएको बताए ।

उनले नगरपालिकाले प्रतियोगितालाई गौरवको आयोजनाको रुपमा राखे पनि महामारीका बीच जोखिम उठाएर प्रतियोगिता गर्न नसकिएको बताए । नगरपालिकामा जनप्रतिनिधि आएपछि २०७४ सालमा गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरेर शुरु भएको थियो । नगरपालिकाले २०७५ सालमा आन्तरिक कारण देखाउँदै प्रतियोगिता नगरे पनि २०७६ सालमा खुल्ला नगरपालिकास्तरीय प्रतियोगिता आयोजना गरेको थियो ।

नगरपालिकाले पहिलो संस्करणमा जिल्ला खेलकूद विकास समितिसँगको समन्वयमा र दोस्रो संस्करण जिल्ला फुटबल सङ्घको समन्वयमा गरेको थियो । विसं २०७४ मा स्याङ्जाको वालिङ नगरपालिका र २०७६ सालमा आयोजक बागलुङ नगरपालिकाले उपाधि जितेका थिए ।

नगरपालिकाले गौरवको योजनामा राखेर मेयर कप फुटबल प्रतियोगिता गर्दै आएको थियो । नगरपालिकाले प्रतियोगिता गर्नको लागि चालू आर्थिक वर्ष २०७७÷७८ मा २० लाख रुपैयाँ बजेट विनियोजित गरेको छ । जिल्लाको काठेखोला गाउँपालिकाले पनि ‘अध्यक्ष कप’ भलिबल प्रतियोगिताको दोस्रो संकरण सञ्चालन गर्न सकेन् । कोरोना महामारीकै कारण यस वर्ष अध्यक्ष कप गर्न नसकिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए। युवाको सहभागिता र खेलकूदको विकास गर्ने भन्दै गाउँपालिकाले गत वर्षदेखि कला, साहित्य र खेलकूदका गतिविधि एकैसाथ गर्दै आएको थियो । वडामा हरेक वर्ष घुम्ती खेलकूद प्रतियोगिता आयोजना गरेर आन्तरिक पर्यटन प्रबद्र्धनको लक्षसमेत काठेखोलासँग थियो ।

माघे सङ्क्रान्ति मेलाका अवसरमा आयोजना हुने जिल्लाको जैमिनी नगरपालिका ‘मेयर कप’ भलिबल प्रतियोगिता यो वर्ष हुन सकेन । राष्ट्रियस्तरमा आयोजना हुने प्रतियोगिता यस वर्ष कोरोना महामारीकै कारण हुन नसकेको जैमिनी नगरपालिकाको शिक्षा तथा खेलकूद शाखाले जनाएको छ ।

नगरपालिकाको सदरमुकाम कुश्मीसेरा बजारमा हरेक वर्ष लाग्ने माघे सङ्क्रान्ति मेला यस वर्ष नभएका कारण मेयर कप रोकिएको हो । जिल्ला सदरमुकाममा रहेको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलले हरेक वर्ष आयोजना गर्ने अन्तर विद्यालय फुटबल प्रतियोगितासमेत कोरोना महामारीका कारण अनिश्चित भएको छ । बागलुङमा अन्य आर्थिक तथा सामाजिक गतिविधि सञ्चालन भएका भए पनि खेलकूदका गतिविधिले भने अझै गति लिन सकेका छैनन् ।

प्रतिक्रिया