
आगामी राष्ट्रपति पदका लागि ट्रम्पले उम्मेदवारी दिने अपेक्षा
न्यूयोर्क – डोनाल्ड ट्रम्पले यही महिना सन् २०२४ को राष्ट्रपतिको चुनावको लागि आफ्नो उम्मेदवारी घोषणा गर्न लागेको कयौँ मिडियाहरूले लेखेका छन् । बिहीबार राति आयोवामा आयोजित एक र्यालीमा बोल्दै ट्रम्पले आफू राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित भएको बताएका थिए ।
‘हाम्रो देशलाई सफल र सुरक्षित तथा गौरवशाली बनाउनको लागि, म पुन उठ्दैछु ,’ उनले समर्थकहरूलाई भने ,‘ तयार रहनुहोस् । अहिलेलाई मैले यति मात्र भने ।’
बिहीबार एक्सियोस, सीएनएन र न्यु योर्क टाइम्सले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै ट्रम्पको अभियानद्वारा राष्ट्रपतिको दौडको आधिकारिक घोषणा छिटोमा नोभेम्बर १४ सम्म घोषणा हुने बताए ।
अमेरिका नोभेम्बर ८ मा हुने महत्त्वपूर्ण मध्यावधि चुनावको सेरोफेरोमा ट्रम्पले उनको उम्मेदवारी घोषणा गर्न लागेको हुन् । सन् २०२० मा जो बाईडेनसँग हारेका ट्रम्पले आफूलाई जालझेलपूर्ण रूपमा चुनाव हराइएको दाबी गर्दै आएका छन् ।
‘यो वर्ष हामीले प्रतिनिधिहरूको सदन फिर्ता लिदैँछौ । हामी सिनेटमा पनि हाम्रो कब्जा कायम गर्नेछौँ । हामी अमेरिकालाई फिर्ता लैजाने छौँ ,’ ट्रम्पले बिहीबार आयोवाको सियोक्स शहरमा सम्बेधन गर्दै भने ,‘ त्यसपछि सन् २०२४ मा हामी सबैभन्दा महत्त्वपूर्ण ह्वाइट हाउस फिर्ता लिनेछौँ ।’
आन्तरिक उम्मेदवारी चयनको लागि हुने प्राइमरी कन्टेस्टको पहिलो गन्तव्य आयोवा राष्ट्रपति उम्मेदवारहरूको सबैभन्दा लोकप्रिय अभियान गन्तव्य हुने गरेको छ ।
७६ वर्षीय ट्रम्पले राष्ट्रपतिको उम्मेदवारी दिएमा उनी रिपब्लिकन उम्मेदवार हुने सम्भावना उच्च रहेको मत सर्वेक्षणहरूले देखाएको छ । त्यसकारण सन् २०२४ मा ट्रम्प–बाईडेनबीच पुन प्रतिस्पर्धाको सम्भावना उच्च छ ।
रिपब्लिकन राष्ट्रपतिका लागि सम्भावित उम्मेदवारहरूमा फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस, ट्रम्पका पूर्व उपराष्ट्रपति माइक पेन्स र संयुक्त राष्ट्रका पूर्व राजदूत निक्की हेली सामेल छन् ।



कागजपत्र |
