कर्णाली किनारमा तीन जिल्लाका चुनाव केन्द्रित सुरक्षा बैठक


सुर्खेत – दैलेखको आठबीस नगरपालिका अन्तर्गत पर्ने कर्णाली नदीको किनारमा तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको चुनाव केन्द्रित बैठक बसेको छ । आज (बिहीबार) कर्णाली प्रदेशका दैलेख र कालिकोट तथा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको सुरक्षा समन्वय बैठक बसेको हो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा बसेको बैठक आसन्न निर्वाचन, विपद् व्यवस्थापन लगाएतका विषयमा केन्द्रित रहेको छ। जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार तीन जिल्लाको सुरक्षा बैठकमा मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनबारे छलफल भएको सुरक्षा स्रोतले जनाएको छ ।

निर्वाचन सुरक्षासहित विपद् व्यवस्थापन, दुई ठूला राजमार्गहरु कर्णाली राजमार्ग र मध्यपहाडी राजमार्गमा सहज सवारी आवागमन, सडक दुर्घटना न्यूनीकरण, चोरी निकासी नियन्त्रण लगाएतका विषयमा केन्द्रित रहेर अन्तर जिल्ला सुरक्षा बैठक बसेको हो ।

बैठकमा दैलेख, कालिकोट र अछाम जिल्लामा सञ्चालित ठूला योजनाहरुको सुरक्षा सवालमा पनि छलफल भएको छ। बैठकमा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, अछामका प्रमुख जिल्ला अधिकारी राम दत्त पाण्डेय, दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वर प्रसाद शाहसहित कालिकोट र अछामका प्रहरी प्रमुख, तीन वटै जिल्लाका सशस्त्र प्रहरी बलका प्रमुख र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु उपस्थित थिए । बैठकले १० बुँदे निर्णयहरु गरेको छ।

प्रतिक्रिया