

सिस्नुपानी नेपालको देउसीमा दर्शकको ताली, नेताहरुलाई अनेक व्यंग्य

काठमाडौँ- नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारका अवसरमा ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रम आयोजना गरिएको छ। शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले प्रज्ञा भवनमा संयुक्त देउसी भैलोको आयोजना गरेका हुन्।
उक्त अवसरमा समसामयिक राजनीति, बढ्दो भ्रष्टाचार तथा सामाजिक विसांगतीविरुद्ध व्यङ्ग्य गरिएको थियो। उक्त कार्यक्रममा देउसी भैलोसँगै विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको छ।
देउसी भैलो कार्यक्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, चक्र दुवाडीलगायतले व्यङ्ग्यात्मक प्रस्तुति दिए।
व्यङ्ग्यकविका रुपमा परिचित अर्जुन पराजुलीले आधा दर्जन कविता वाचन गरे। देउसी भैलोमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व -प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व-प्रधानमन्त्री डा.बाबुराम भट्टराई , विभागीय मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न दलका नेता, काठमाडौं र ललितपुर महानगरका प्रमुख,सुरक्षा निकायका प्रमुख र संवैधानिक निकायका प्रमुख सहभागी थिए।
प्रज्ञा भवन र डबलीमा खचाखच भरिएका दर्शकका अगाडि अच्युतराम भण्डारीको नेतृत्वमा ३८ जनाले तवलाबाट दर्शकलाई स्वागत गरेका थिए।
लगत्तै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलले पैसाका लागि कसरी नेताले जनताको भावना सङ खेल्छन भन्ने प्रस्तुती दिए। सिद्धान्त फरक भए पनि सत्ता , शक्ति र पैसामा उनीहरूले इमान बेच्छन भन्ने कुराको प्रस्तुति दिंदा दर्शक तालीले समर्थन गरे।
कवि अर्जुन पराजुलीले आधा दर्जन कवितामा समसामयिक विषयलाई उठान गरे। विभिन्न कालखण्डमा नेता तथ नेतृत्वले जनतालाई देखाउने सपना र ती सपनाको भर्याङ चढेर जनताका सपनामाथी खेलवाड गर्छन भन्ने कुरालाई गम्भीर रूपमा प्रस्तुत गरे।
हरेक वर्ष तिहारको उपलक्षमा सिस्नुपानी नेपालले देउसी भैलो कार्यक्रम गर्छ। तर दुई वर्ष कोरोनाले गर्दा भएको थिएन।
‘देउसी भैलो उत्साहजनक रह्यो। दर्शकको मायाले पुलकित भएका छौँ’, संस्थाका अध्यक्ष लक्षण गाम्नागेले भने। देशको विकृति विसङ्गतिविरुद्ध सिस्नुपानी नेपालले सामाजिक अभियान चलाउँदै आएको छ।

