


कैद छलेर ६ वर्षदेखि फरार एकसहित दुई जना पक्राउ

विराटनगर – अदालतले दोषी ठहर गरे पनि कैद छलेर ६ वर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ।
मोरङको कटहरी गाउँपालिका-३ का ५८ वर्षीय रामबहादुर भण्डारी पक्राउ परेका हुन् । उच्च अदालत विराटनगरले ठगी मुद्दामा भण्डारीलाई २०७३ साल फागुन ८ गते दोषी ठहर गर्दै १० महिना २१ दिन कैद सजायको फैसला गरेको थियो ।
अदालतले उनलाई २५ हजार रुपैयाँ जरिवानाको फैसलासमेत गरेको थियो। दोषी ठहर गर्दै अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको भए पनि भण्डारी भने ६ वर्षदेखि भागिरहेका थिए। कैद तथा जरिवाना भुक्तान गरेकै थिएनन् ।
उनलाई गाउँघरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । त्यस्तै लागुऔषध मुद्दामा दोषी ठहर भएका सुनसरीको धरान उपमहानगरपालिका-५ का ३७ वर्षीय बुद्धबहादुर विश्वकर्मा पनि पक्राउ परेका छन् ।
जिल्ला अदालत सुनसरीले लागुऔषध मुद्दामा विश्वकर्मालाई २०७८ पुस १२ गते दोषी ठहर गरेको थियो । अदालतले १ महिना ९ दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरे पनि उनी कैद तथा जरिवाना भुक्तान नगरिकन फरार बनेका थिए।
गाउँघरै लुकिछिपी बसेको अवस्थामा विश्वकर्मा पक्राउ परेको प्रहरीले जनाएको छ । ठगी मुद्दाका प्रतिवादी भण्डारी र लागुऔषध मुद्दाका विश्वकर्मालाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले पक्राउ गरेर बिहीबार अदालतको जिम्मा लगाएको छ ।
अदालतले दुवै जनालाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईले बताए।

