डेंगु पहिचानका लागि टेस्टकिट प्रदान


उदयपुर – डेंगु रोगको संक्रमण बढ्न थालेपछि उदयपुरको त्रियुगा नगरपालिकाले जिल्ला अस्पताललाई टेस्टकिट उपलब्ध गराएको छ।नगरपालिकाले डेंगु संक्रमण पहिचानमा सहज र सुलभताका लागि परीक्षणमा प्रयोग गरिने किट उपलब्ध गराएको हो।

टेस्टकिट लिएर शुक्रबार अस्पताल पुगेका मेयर बसन्तकुमार बस्नेतले अस्पताललाई दुई सय थान र देउरी स्वास्थ्य चौकीलाई एक सय थान गरी तीन सय थान टेस्टकिट हस्तान्तरण गरेका हुन। किट हस्तान्तरण गर्दै मेयर बस्नेतले डेंगुको संक्रमण बढ्दै गएकाले जनतालाई छिटो, छरितो र प्रभावकारी उपचार दिन चिकित्सकलाई आग्रह गरे।

जिल्लामा डेंगुका बिरामी बढ्न थालेको र टेस्टकिटको अभाव रहेको खवर आएकाले अभाव हुन नदिन सहयोग गरेको उनले बताए। खोटाङ, भोजपुरदेखि सप्तरीसम्मका बिरामी उपचार गर्ने जिल्ला अस्पतालको स्वास्थ्य सुधारका लागि आर्थिक, भौतिक र स्वास्थ्य जनशक्तिसमेत त्रियुगा नगरपालिकाले उपलब्ध गराउने उनले बताए।

प्रतिक्रिया