
प्रदेश मन्त्री यादवले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर
विराटनगर – प्रदेशसभामा सिट बाँडफाडको जिम्मा प्रदेश कमिटीलाई नदिएपछि प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् ।
गठबन्धनमा आबद्ध दलहरूले प्रदेशसभाको सिट बाँडफाँड छलफल थालेपछि असन्तुष्ट हुँदै जसपाका नेता समेत रहेका मन्त्री यादवले आफ्नो कार्यकक्ष बाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको मात्रै राखेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाको फोटा हटाएर उनले प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री राजेन्द्र राईको मात्रै फोटो कार्यकक्षमा राखेका छन् । यसअघि उनको कार्यकक्षमा चार जनाकै फोटो थियो । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राष्ट्रपति र मुख्यमन्त्री फोटो हटाएको जनाएका छन् ।
उनले लेखेका छन्,‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल (जिन्दाबाद )। राष्ट्रपति र प्रधानमन्त्रीको फोटा हटाएर माननीय प्रदेश प्रमुख परशुराम खापुङ ज्यु र माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईज्युको तस्वीर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो । पहिचान सहितको ( संघीय अभिवादन ) । ’ गठबन्धनमा आवद्ध दलले प्रदेश सभाको सिट बाँडफाँडका बारेमा आजदेखि छलफल गरेपछि उनले असन्तुष्ट जनाउँदै तस्वीर हटाएका हुन् ।
‘प्रदेशमा सबै पाटीको प्रदेश कमिटीहरू छन् । प्रदेशको सिट बाडफाँड टुग्याउन प्रदेश कमिटीहरू पनि सक्षम छन् । तर उनीहरूलाई जिम्मा नदिएर केन्द्रका नेताहरूले नै टुंग्याउनु गलत हो,’ उनले भने । सबै पार्टीको नेतृत्वले संघीयता भनेर भाषण गरेपनि उनीहरूले केन्द्रियता लाद्न खोजेको समेत उनले आरोप लगाएका छन् ।



कागजपत्र |
