ताप्लेजुङबाट माओवादीले पठायो प्रत्यक्षतर्फ उम्मेदवारको नाम


ताप्लेजुङ – नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ। माओवादी केन्द्र ताप्लेजुङले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्नेहरुको नाम सिफारिस गरेको हो।

जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बुका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ खेलप्रसाद बुढाक्षेत्री, मिङ्माडण्डु शेर्पा र लक्ष्मीप्रसाद अन्छङ्बोको नाम सिफारिस गरिएको छ।

यस्तै प्रदेश सभा सदस्यतर्फ निर्वाचन क्षेत्र १ ‘क’ मा खेलप्रसाद बुढाक्षेत्रीलाई नै सिफारिस गरिएको छ भने बमबहादुर भट्टराई (तारा) को नाम पनि सिफारिस गरिएको छ।

निर्वाचन क्षेत्र १ ‘ख’ मा मिङ्माडण्डु शेर्पा र लक्ष्मीप्रसाद अन्छङ्बोकै नाम सिफारिस गरिएको जिल्ला संयोजक लिम्बूले जानकारी दिए। उनका अनुसार मङ्गलबार बिहान बसेको जिल्लास्थित पदाधिकारीको बैठकमार्फत् प्रत्यक्षतर्फ सङ्घ र प्रदेश दुवैतर्फ सम्भावित उम्मेदवारका रुपमा उनीहरुको नाम सिफारिस गर्ने निर्णय भएको हो।

यता गठबन्धनको निर्णय आइनसकेकाले एउटै व्यक्तिको नाम दुवैतिर अर्थात प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि सिफारिस गर्नुपरेको माओवादीले जनाएको छ। पार्टी गठबन्धनमार्फत् निर्वाचनमा सहभागी हुने भएकाले माओवादीको भाग परेको क्षेत्रमा नाम सिफारिस भएकामध्येबाटै उम्मेदवार हुने माओवादी केन्द्रले जनाएको छ।

नाम सिफारिस हुनेमा बुढाक्षेत्री केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज हुन् भने शेर्पा प्रदेश सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज, अन्छङ्बो प्रदेश सचिवालय सदस्य र भट्टराई प्रदेश समितिका सदस्य हुन्।

समानुपातिकतर्फ भने आकाङ्क्षी धेरै जना भएको जिल्ला संयोजक लिम्बूले जानकारी दिए। उनकाअनुसार प्रतिनिधि सभातर्फ तेजसम्सेर भट्टराई (काजी), पर्शुराम कार्की, ठाकुरसिंह लिम्बू, गोमा चुडाल, देउबहादुर इवाराम लगायत रहेका छन्। त्यस्तै प्रदेश सभातर्फ प्रेमकुमार सेलिङ, मनकुमारी मादेन, पर्शुराम थोप्रा, मलिषा यक्सो, विमला लिम्बू, सागर आङ्बुहाङ लगायतको नाम सिफारिस गरिएको जनाइएको छ।

ताप्लेजुङमा प्रतिनिधिसभाको एक र प्रदेश सभातर्फ दुईवटा क्षेत्र रहेका छन्। यसअघि नेकपा (एकीकृत समाजवादी) ले पनि पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नाम सिफारिस गरिसकेको छ। जिल्लाबाट नेपाली काँग्रेस, नेकपा एमाले लगायतले भने उम्मेदवारको नाम सिफारिस गर्न बाँकी रहेको छ।

प्रतिक्रिया