चालु आर्थिक वर्षको सुरुवातमा खर्चभन्दा आम्दानी बढी


काठमाडौं – चालु आर्थिक वर्षको भदौ १२ गतेसम्ममा सरकारको खर्चभन्दा आम्दानी बढी देखिएको छ ।

चालु आर्थिक वर्षको सुरुमा सरकारको खर्च कम हुने तर राजस्व भने उठिरहने भएकोले सरकारको आम्दानीको तुलनामा खर्च कम देखिएको हो ।

सरकारको आम्दानी र खर्चको हिसाव राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार सो अवधिसम्ममा १११ अर्ब रुपैयाँ आम्दानी भएको छ भने ४३ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ भने १७ खर्ब ९३ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ ।

महालेखाका अनुसार संकलन भएको राजस्वमध्ये कर राजस्व ८७ अर्ब रुपैयाँ छ भने गैरकर राजस्व १० अर्ब रुपैयाँ छ । भदौ १२ गतेसम्ममा सरकारले ७९ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ भने अन्य प्राप्ति १२ अर्ब रुपैयाँ छ ।

आम्दानीको तुलनामा सरकारको खर्च भने कम छ । सरकारले चालु आर्थिक वर्षको भदौ १२ गतेसम्ममा ४३ अर्ब रुपैयाँ खर्च गरेको छ । यो भनेको वार्षिक खर्च लक्ष्यको २.४२ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखेको छ ।

सरकारले गरेको खर्चमध्ये चालु बजेट खर्च २५ अर्ब रुपैयाँ छ भने पुँजीगत बजेट खर्च २ अर्ब ५७ करोड रुपैयाँ छ । यस्तै, वित्तीय व्यवस्था तर्फको बजेट भने १५ अर्ब रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया