ओलीलाई टक्कर दिन झापा ५ मा सिटौलाको तयारी

‘योगदान, योग्यता र योजनाको आधारमा जित्छु’


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला  झापा  क्षेत्र नं – ५ मा नेपाली कांग्रेसका युवा नेता मेदनी प्रसाद सिटौलाले उम्मेदवारीको तयारी गरेका छन् ।

राजधानी आएका सिटौलाले सञ्चारकर्मीहरुको अनौपचारिक भेटमा आफू योगदान, योग्यता र योजनाको दृष्टिकोणले एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा बलियो भएको दाबी गरेका हुन् ।

झापा पश्चिममा पर्ने स्थानीय तहहरु कहिले ६ , कहिले ७ भए पनि हाल ५ नम्बर क्षेत्रमा पर्छ । यही क्षेत्रलाई राजनीति गर्ने भूमि बनाएका एमाले अध्यक्ष ओली विगत ३० वर्षदेखि उम्मेदवार बन्दै आएका छन् ।

यो क्षेत्रका वासिन्दाले माग गरेको नदी नियन्त्रणको मुद्धालाई ओलीले जनप्रतिनिधि भएर पनि कहिल्यै पुरा नगरेको गुनासो छ ।

२०४८, २०५१, २०५६को संसदीय निर्वाचन तथा २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएका ओलीले यो क्षेत्रमा रहेको मावा र रतुवा नदीको ‘पाता फर्काउँछु’ भनेर व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयन गर्नुका सट्टा नदि नियन्त्रणको ठेक्का पाएका आफू निकटका ठेकेदारले लापरबाही गरी काम अलपत्र पार्दा समेत संरक्षण गरेपछि स्थानीय मतदाता रुष्ट छन् ।

असन्तुष्ट मतदाताले यो क्षेत्रबाट २०५६ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डा. गोपालप्रसाद कोइराला (हाल निधन) र २०६४ को संविधानसभाको निर्वाचनमा नेकपा माओबादीका विश्वदिप लिङ्देनलाई विजयी बनाएका थिए ।

यो पटकको आमनिर्वाचनमा समेत स्थानीय मतदाताले ओलीको बिकल्पमा अरु उम्मेदवारको चाहना गरिरहेको अवस्थामा आफूले तीब्र तयारी गरिरहेको सिटौला बताउँछन् । झापा ५मा रहेका चार स्थानीय तहमध्ये २ गाउँपालिका कमल र गौरिगंजमा नेपाली कांग्रेसले र दमक नगरमा कांग्रेसको समर्थनमा राप्रपाले प्रमुखमा विजय हासिल गरेको छ ।

दमकमा कांग्रेस र गठबन्धन दलसहित राप्रपाका मतदाता एकै ठाउँमा हुँदा एमालेसँग बराबरी जस्तै हुन आउँछ । गौरादहमा भने कांग्रेसको आन्तरिक किचलोले २०७९ बैशाखमा मेयरमा पराजित हुनु परेको थियो । तर, २०७४ को स्थानीय तहको निर्वाचनमा भने कांग्रेसले मेयर जितेको थियो ।

यो निर्वाचन क्षेत्रमा गठबन्धन दलमा कांग्रेस सबैभन्दा बलियो छ । कांग्रेसका तर्फबाट यसअघि २०६४ मा उम्मेदवार बनेकी महेन्द्र सुब्बा, २०७० मा प्रतिष्पर्धा गरेका सुरेश सुब्बाले यस पटक प्रतिष्पर्धाको लागि धेरै रुचि राखेका छैनन् । ०७४ मा त्रिचन्द्र कलेजको प्राध्यापन पेशा त्यागेर उम्मेदवार बनेका डा. खगेन्द्र पाण्डव अधिकारीले दाबी पेश गरेका छन् ।

एक पटक उम्मेदवार बनेर पराजित भएका अधिकारीलाई समानुपातिकमा वा राजनीतिक नियुक्तिकाे अवसर दिनु पर्ने केही शीर्ष नेताले सल्लाह दिएकाे स्राेतले बतायाे । पार्टी महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व मन्त्री केशव कुमार बुढाथोकीले झापा ५ मा चाहाना गरे हुन्थ्यो भनेर केही नेताले प्रस्ताव गरे पनि शर्माले झापा १ र बुढाथोकीले झापा २ मा प्रत्यक्षतर्फको दाबी पेश गरेका छन् ।

तरुण दलका पूर्वमहासचिव अनिलकृष्ण प्रसाइँले झापाको ५ ‘क’बाट पुन प्रदेश सभा सदस्यमा चाहना गरेकाले नेविसंघका पूर्वउपाध्यक्ष तथा महाधिवेशन प्रतिनिधि मेदनी प्रसाद सिटौलाको सम्भावना बढी देखिन्छ ।

पार्टीभित्रकै  शेखर कोईराला समूहकाे प्रतिनिधित्व हुने भएकाले नेता कृष्णप्रसाद सिटाैला र महामन्त्री विश्वप्रकाश शर्मालाइ समेत दलभित्रकाे बलियाे एकतामा बल पुग्ने स्थानीयहरू बताउँछन् ।

काे हुन युवा नेता सिटाैला

सिटौला विगत ३५ वर्षदेखि सक्रिय राजनीतिमा छन् । २०४६को जनआन्दोलनमा नेबिसंघ नेपाल ल क्याम्पसले नेतृत्व गरेको कार्यक्रममा सक्रिय सहभागी हुँदा प्रहरी हिरासतमा परेका सिटौला ल क्याम्पसको २०४८ देखि ०५१ सम्म इकाइ सभापति थिए। २०४९को स्ववियू निर्वाचनमा सचिवमा नेविसंघको तर्फबाट प्रतिष्पर्धा गर्दा उनी झिनो अर्थात ४६ मतले पराजित भए ।

लोकप्रीय विद्यार्थी नेताको रुपमा स्थापित सिटौला २०५९मा भएको नेविसंघको महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका थिए । प्रतिगमनबिरोधी आन्दोलनको मोर्चामा गुरुराज घिमिरे अध्यक्ष र गगनकुमार थापा महामन्त्री हुँदा सिटौलाको साथ, सहयोग र सक्रियाताले लोकप्रीय बनेका थिए ।

उनी २०६८ देखि ०७२ सम्म उदय शम्शेर राणा नेतृत्वको नेपाल तरुण दलको केन्द्रीय सदस्य, केन्द्रीय प्रचार समिति र विधान मस्यौदा समितिको संयोजक भएका थिए ।

कांग्रेसका बैद्धिक नेता चक्रप्रसाद बास्तोला, निष्ठावान नेतृ शैलजा आचार्य र त्यागी नेता भीमबहादुर तामाङसँगको सामिप्यताका कारण भद्र र शालिन स्वभावका सिटौला गत महाधिवेशनमा शेखर कोइराला प्यानलबाट केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गर्दा झिनो मतले पराजित भएका थिए ।

झापा ५ को गौरादह र दमक क्षेत्रमा सक्रिय र क्रियाशिल सिटौलाले आफू उम्मेदवार भएमा निर्णायक शक्ति राप्रपाका समर्थक र स्वतन्त्र मतदाताले समेत आफूलाई पत्याउने दाबी गरेका छन् ।

 

प्रतिक्रिया