
रोमानियाको भिषा प्रकृयाका लागि अब दिल्ली जानुनपर्ने, काठमाडौंमा खुल्यो अस्थायी मिसन
काठमाडौं – रोमानिया जाने कामदारको सहजताका लागि काठमाडौंमा अस्थायी रोमानिया मिसन स्थापना भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया जाने कामदारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा अस्थायी रोमानियन मिसन स्थापना गरेको हो ।
रोजगारीका लागि रोमानिया जाने कामदारको आवश्यक भिषा प्रकृयालाई सरल, सहज र पहुँच योग्य बनाउन मन्त्रालयले ताहाचलमा अस्थायी रोमानियन मिसन स्थापना गरेको हो । यसअघि रोमानिया जाने नेपालीहरूले भारतमा रहेको रोमानियन दूतावासमा जानुपर्ने बाध्यता थियो । रोमानियाबाट रोजगारीको लागि सम्झौता पाइसकेपछि मात्रै भीसा प्राप्तिका लागि दिल्ली गएर आवेदन दिनुपर्ने बाध्यता थियो ।
यस्ता खालका गुनासोलाई सम्बोधन गर्न सम्बद्ध निकायको समन्वयमा नेपाली नागरिकहरूले रोमानियामा प्राप्त गरेका रोजगारीहरु गुम्न नदिन र रोमानिया प्रवेशको लागि सहज बनाउन मिसन स्थापना गरिएको मन्त्रालयले जनाएको छ । उक्त मिसनले नेपालबाट रोमानियामा रोजगारी तथा अन्य सन्दर्भमा जान चाहाने नेपालीको भिषा आवेदन प्रकृयाको सहजीकरण गर्नेछ ।
रोमानियन मिसनले प्रवाह गर्ने सेवा प्रकृयामा श्रम तथा रोजगार कार्यालय, ताहाचलले आवश्यक समन्वय गर्नेछ । नेपालबाट रोमानियामा वैदेशिक रोजगारीमा जान चाहने नेपालीले रोमानियन मिसनले तोकेको भिषा शुल्कबाहेक अन्यत्र कतै पनि रकम नबुझाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
रोमानियन अधिकारीहरूसँग चिनजान छ भनी वा कुनै प्रलोभनमा पार्ने कार्य गरेको खण्डमा प्रचलित कानून अनुसार कारवाही गरिने समेत चेतावनी दिएको छ । गैरकानूनी कृयाकलापमा संलग्न नहुन र कोही यस्ता गैरकानूनी कृयाकलापमा संलग्न भएको सूचना कसैसँग भएमा मन्त्रालयमा रहेको कल सेन्टर १६६००१५०००५ वा ११४१ मा सम्पर्क गरी सूचना दिन मन्त्रालयले आह्वान गरेको छ । सूचना दिने व्यक्तिको पहिचान भने पूर्ण रुपमा गोप्य राखिने समेत मन्त्रालयले प्रष्ट पारेको छ ।



कागजपत्र |
