रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्रीको आग्रह


काठमाडाैं – प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न प्रदेश नं. १ स्थित सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

प्रदेश नंं. १ को धार्मिक तथा सांस्कृतिक परम्पराको रुपमा रहेको रथयात्रा यस वर्ष कोभिड संक्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उनले रथयात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज रथयात्रा तथा सञ्चालन हुने स्थानका बारे जानकारी लिए पश्चात् मुख्यमन्त्री राईले परम्परा पनि कायम हुने र नागरिकको स्वास्थ्य पनि जोखिम नहुनेगरी रथ यात्राको व्यवस्थापन गर्न आग्रह गरे ।

विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रथयात्रा हुने गर्दछ । उक्त रथयात्रामा लाखौंको संख्यामा भक्तजनहरू सहभागी हुने गर्छन् । यस वर्ष कोभिड संक्रमणलाई ख्याल गर्दै झाँकी बाहेकको रथयात्रा निकाल्ने तयारी राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले गरेको छ । आज मुख्यमन्त्री कार्यालयमा आयोजित छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश नं. १ प्रमुखसहित मोरङ जिल्लास्थित सुरक्षा अधिकारीहरू उपस्थित थिए ।

प्रतिक्रिया