काभ्रेमा रेबिज संक्रमणको जोखिम बढ्दै


काभ्रेपलाञ्चोक – जिल्लामा पछिल्लो समय मानिस तथा पशुमा महामारीजन्य रोग रेबिज सङ्क्रमणको जोखिम बढ्दै गएको पाइएको छ । रेबिजको सङ्क्रमणबाट पशु–चौपाया तथा मानिस समेतको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

दुई हप्ताअघि भुम्लु गाउँपालिका–१ सापिङमा रेबिजबाट पशु–चौपाया मरेपछि कार्यालयले सोमबारसम्ममा दुई सय १२ स्थानीयवासीलाई रेबिजविरुद्धको खोप लगाएको छ ।सात दिनपछि दोस्रो मात्रा खोप लगाइने तयारीसमेत भएको जनाइएको छ । प्राणघातक मानिएको सो रोगबाट छिमेकी गाउँपालिका चौँरीदेउराली–६ मा गत वर्ष एकै महिनामा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो ।

दुई हप्ताअघि सापिङमा रेबिजबाट केही भैँसी र बाख्रा मरेकामा स्थानीयवासीले केहीलाई पुरेको र केही काटेर खाएका कारण बाख्रा र भैँसीको मासु खाने छिमेकी टोलसमेतका व्यक्तिलाई रेबिजविरुद्धको खोप लगाइएको कार्यालयका प्रमुख डा। पुरुषोत्तम सेढाईंले जानकारी दिए ।

‘मरेर गाडिएको पशुसमेतलाई परीक्षण गर्दा रेबिज पोजेटिभ देखियो, यसपछि मासु खाएका सबैलाई खोप लगाएका छौँ’, उनले भने । कार्यालय प्रमुख डा। सेढाईंले हालसम्म मानिसमा कुनै लक्षण नदेखिएको तर खोपसहित निगरानीमा भने राखिएको बताए ।

उक्त गाउँमा एक महिनाअघि दुई कुकुर र केही बाख्रा मरेको जनाइएको छ । हाल केही स्थानीयवासीको भैँसीले ¥याल काढिरहेकाले पशुमा पनि रेबिजविरुद्धको खोप लगाइएको जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । ‘त्यस क्षेत्रमा कुकुरबाट बच्न र अब उप्रान्त मरेको कुनै पनि पशु–चौपाया नखान आग्रह गरेका छौँ’, केन्द्रप्रमुख पशु चिकित्सक राजकुमार हुमागाईंले भने । उनका अनुसार केही भैँसी बिरामी भएको खबर प्राप्त भएकाले पुनः आज पशु चिकित्सकको टोली त्यसतर्फ पठाइएको छ ।

यसअघि गत असार अन्तिम साता पनौती नगरपालिका–३ कुशादेवी सिमसारका १० जनालाई रेबिजविरुद्धको दुई मात्रा खोप लगाइएको थियो । स्थानीय स्वास्थ्य संस्थाले आफ्नो सम्पर्कमा राखी उनीहरुलाई घरमै निगरानी गरेको थियो । रेबिजबाट मृत्यु भएका युवाको सम्पर्कमा रहिआएका परिवारका सदस्यलगायतलाई ‘मात्रा’अनुसार खोप लगाइएको थियो ।

कुशादेवी स्वास्थ्य चौकीका प्रमुख प्रभुनारायण साहका अनुसार रेबिजका कारण गत असार २३ गते स्थानीय २३ वर्षीय युवाको उपचारका क्रममा मृत्यु भएको थियो । उनका सम्पर्कमा आएकालाई घरमै निगरानीमा राखी दोस्रो खोप लगाइएको उनले बताए । यसैगरी करिब छ महिनाअघि भक्तपुरको पाण्डु बजारमा सापकोटालाई कुकुरले टोकेको थियो ।

कार्यालय प्रमुख डा। सेढाईंले घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण रहिरहने देखिएको बताए । गत वर्ष चौँरीदेउराली गाउँपालिका–६मा कुकुरले टोकेका एक आठ वर्षीय बालक र दुई पुरुषको एक महिनापछि उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यस्तै अघिल्लो आर्थिक वर्षको माघमा धुलिखेल नगरपालिका–४ का २२ वर्षीय एक युवकको रेबिज रोगबाट मृत्यु भएको थियो । ती युवकले ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षण गर्दा रेबिजको सङ्क्रमण देखिएको थियो ।

युवकसहित मृत्यु भएका चारैजनालाई कुकुरले टोकेका कारण रेबिज रोग लागेको थियो । रेबिजकै कारण २०७७ मङ्सिरमा धुलिखेल–४ कै एक गाईको समेत मृत्यु भएको थियो । उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेकोे थियो।

एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षणसमेत गरेको थियो । नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा त्यसबेला पनि रेबिजविरुद्ध दुई सयलाई भ्याक्सिन लगाइएको थियो ।

प्रतिक्रिया