
ओलीको नाम भजाउने अटेरी ठेकेदारले तटबन्द नगर्दा झापामा बढे बाढी पीडित
तीन करोड लिएर काम नगरेको भन्दै दमकका मेयरको गुनासो
काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष सम्वन्ध भएको दम्भ देखाउँदै आएका एक ठेकेदारका कारण झापा पश्चिमका दमक र गौरादह नगरबासी र कमल गाउँपालिकाका बासिन्दा बर्षेनी बाढीबाट पीडित भएका छन् ।
एसियाली विकास बैंकको अनुदान सहयोगमा झापाको दमकनगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र मोरङको उर्लाबारीलगायतको पालिकामा पर्ने रतुवा र मावामा विभिन्न ठाउँमा करिब १२ किलोमिटर तटबन्ध गर्न ठेक्का पाएका ठेकेदारले काम नगरिदिँदा झापा क्षेत्र नम्बर ५ का बासिन्दा बर्षेनी बाढीको बितण्डाबाट पीडित हुन पुगेका हुन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने यी तीन वटै स्थानीय तहका मतदातालाई हरेक निर्वाचनमा ओलीले २०४८ सालदेखि ‘मावा र रतुवाको पाता कसेर बाढी नियन्त्रण गरिने छ’ भन्ने भाषण गर्दै आएका छन् । उनको यस्तो आश्वासन कार्यान्वयन गर्न उनकै नजिकका ठेकेदारले भाँजो हालेका हुन् ।
०७८ जेठमा ७० करोड ४६ लाख रुपैयाँमा एचजेडएमसी (मैनाचुली–रोशन जेभी) ले निर्माण सम्झौता गरेको थियो । मैनाचुली निर्माण कम्पनीका मालिक अरु कोही नभएर दमक नगरकी निवर्तमान उपप्रमुख गीत अधिकारीका श्रीमान मदन अधिकारी हुन् ।
गीता अधिकारी गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा दमक नगरको प्रमुखमा एमालेबाट उम्मेदवार बनेर राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापासँग पराजित हुन पुगेकी थिइन् । शक्तिसाली व्यक्तिसँग आफ्नो सम्वन्ध भएकै कारण करिव एक वर्षदेखि तटबन्धको कुनै काम नगरी बसेका ठेकेदार अधिकारीले पेश्की स्वरुप तीन करोड रुपैयाँ भने बुझिसकेका छन् ।
ठेक्का लिएर नदी तटबन्धको काम अघि नबढाउने निर्माण व्यवसायीलाई तत्काल काम अघि बढाउन निर्देशन दिनु पर्यो भन्दै यसै साता मात्र दमक नगरपालिकाका मेयर राम थापाको सर्बदलिय टोली मन्त्रीको ढोका ढोका चहार्न बाध्य भएकाे छ।
मेयर थापाको टोलीले सिँचाइ विभाग पुगेर रतुवा र मावा नदीमा तटबन्धका लागि ठेक्का लागे पनि काम अघि नबढेको भन्दै सिँचाई मन्त्री र सिँचाई विभागका महानिर्देशकलाई भेटेर गुनासो गरेका थिए ।
दमक नगरपालिकाका प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराई, नेकपा माओवादीका नेता गगन पुरी, रवि बस्नेतसहितको टोलीले विभागका आयोजना निर्देशक रूक्मागत खनाललाई भेटेर गुनासो गरेका थिए ।
ठेक्का पाएको निर्माण कम्पनीले मोबिलाइजेसन खर्च भनेर ३ करोड रकम लगिसके पनि काम सन्तोषजनक नभएको र समयमा काम नगर्दा नदी बस्तीतिर पसिरहेको दमक नगरपालिकाका प्रमुख राम थापाले गुनासो गरे ।
‘ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिले जनता आक्रान्त छन् । तटबन्धको ठेक्का लागे पनि काम नहुँदा बस्तीमा नदी पसेको छ । घरभरि पानी पसेको छ,उनले भने, ‘हामीले बाँसको अस्थायी बाँधमा करोडौं खर्च गरेका छौँ तर यो दिगो भएन ।’
उपप्रमुख भट्टराईले जनताको नजिकको सरकारका प्रतिनिधि भएकाले जनताका गुनासा आफूहरूसम्म आइपुग्ने गरेको बताइन्। निर्माण व्यवसायीले काम नगर्दा बस्ती डुबिरहेको उनको भनाइ छ । माओवादी नेता पुरीले समयमा तटबन्ध नभए नदी कटानका कारण ठूलो क्षति हुने बताए ।
विभागका आयोजना प्रमुख खनालले गत आर्थिक वर्षमा एडिबीको उक्त प्रोजेक्टका लागि ४० लाख छुटिए पनि काम हुन नसकेको बताए । उनले निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि सन्तोषजनक काम नभएको बताए । अब चाँडै नै फिल्डमै निर्माण व्यवसायी, स्थानीय र जनप्रतिनिधिसहितको बैठक राख्ने प्रतिबद्धता जनाए ।
निर्माण व्यवसायीले काम नगर्दा एडिबी पनि खुसी नभएको उनको भनाइ थियो । ०७८ जेठमा ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले कागजात मिलाउनै माघसम्म लगाएको उनले बताए । यसअघि निर्माण व्यवसायसँग छलफल गर्दा गल्ती भएको र अब काम सुरु गर्ने बताएको खनालले बताए । तर, त्यसपछि पनि काम हुन नसकेको उनको भनाइ छ ।



लिलाराज खनाल |
