
कांग्रेस ८० सिटसम्ममा मान्न सक्छ : प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेस सिट बाँडफाँटमा ८० सिटसम्ममा मान्न सक्नेमा विश्वास व्यक्त गरेका छन् ।
शनिबार पार्टीको स्थायी समिति बैठकमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटको बारेमा छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन् । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलमा भएको प्रगतिबारे छलफल भएको हो ।
स्थायी समिति सदस्य लीलामणि पोखरेलका अनुसार बैठकमा कार्यदलका सदस्यहरूले हालसम्म भएको छलफलबारे रिपोर्टिङ गरेका थिए । कार्यदलका सदस्यहरूको कुरा सुनेपछि अध्यक्ष प्रचण्डले ८० सिटसम्ममा मान्न सक्नेमा विश्वास व्यक्त गरेका थिए । शनिबारको बैठकमा भएको छलफलअनुसार कार्यदलका सदस्यहरूलाई गठबन्धनको कार्यदलको बैठकमा कुरा राख्न अध्यक्ष प्रचण्डले आग्रह गरेको पोखरेलले बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाडै नै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित पोष्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा उनले आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको बताए ।
कार्यक्रममा उनले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचना माओवादी केन्द्रले एक सय ७५ तहमा जित्ने अनुमान गरेकोमा पार्टीभित्रको आचरणका कारण ५० स्थान गुमाएको बताए । उनले माओवादी नेताकार्यकर्ताले आचरण सुधार गर्न अवश्यक रहेको बताए । उनले भने, ‘व्यवहार र आचरणमा फरक देखियो । खिचातानी, एकले अर्कालाई हराउने प्रवृति छोड्न आवश्यक त ।’



कागजपत्र |
