

फ्रान्समा बिजुली जोगाउने अभियान : ढोका खोलेर एयर-कण्डिसन चलाउनेलाई जरिवाना

फ्रान्स – फ्रान्सले देशका व्यवसायिक पसलहरूले एयर कण्डिसन चलाउँदा तिनको ढोका नलगाएमा जरिवाना तिराइने कानुन ल्याउन लागेको छ । यो कानुनले अनावश्यक उर्जा खेर जान नदिने एक मन्त्रीले बताइन् ।
‘पसलको ढोका खुला राखेर एयर कण्डिसन चलाउँदा सामान्य बेलाभन्दा २० प्रतिशतभन्दा बढि उर्जा खपत हुन्छ, जुन अनावश्यक उर्जाको नोक्सानी हो,’ फ्रान्सका पर्यावरण संक्रमण मन्त्री एग्नेस पेनिएर-रुनाचेरले भनिन् । मन्त्रीले आगामी दिनमा रातको समयमा झलमल्ल बल्ने विज्ञापनमा पनि प्रतिबन्ध लगाउने बताइन् ।
‘केही दिनमै मैले दुई अध्यादेश ल्याउँदैछु : पहिलो अध्यादेशले रातको समयमा झलमल्ल बल्ने विज्ञापनहरूलाई रातको १ बजेदेखि बिहान ६ बजेसम्म प्रतिबन्ध लगाउने छ । यसमा विमानस्थल र रेल स्टेसनका विज्ञापनमा भने छुट हुनेछ,’ मन्त्री पेनिएर-रुनाचेरले जर्नल डु डिमान्चे पत्रिकासँगको अन्तरवार्तामा बताइन्, ‘दोस्रो अध्यादेशले व्यवसायिक पसलमा ढोका खोलेर एयर कण्डिसनर चलाउन प्रतिबन्ध लगाउनेछ ।’
पछिल्लो समय फ्रान्सका कयौं भाग हिट वेबबाट प्रभावित छन् । यस अवधिमा सरकारले प्रभावित क्षेत्रमा ढोका खोलेर एयर कण्डिसन चलाउने पसलहरूलाई जरिवाना गराएको थियो । अहिले सोही नियम देशभर लागू गर्ने प्रयास गर्न लागिएको हो । सरकारले पहिले दोकानदारलाई नयाँ कानुनबारे शिक्षा दिने र त्यसपछि पनि कानुन उल्लघंन गरेको पाइएमा ७६६ अमेरिकी डलर झण्डै ९७ हजार नेरु तिराउने बताएको छ । एजेन्सी

