

सिएचओडी कन्फरेन्समा सहभागी हुन प्रधानसेनापति शर्मा भोलि अष्ट्रेलिया जाँदै

काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा भोलि (शनिबार) अष्ट्रेलिया जाने भएका छन्। गत असार ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सिड्नीमा साउन ९ देखि ११ गतेसम्म हुने एनुअल चिफ्स अफ डिफेन्स (सिएचओडी) कन्फरेन्स २०२२ मा सहभागी हुन अष्ट्रेलिया जाने तय भएको नेपाली सेनाले जनाएको छ।
अष्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इण्डोप्यासिफिक कमाण्डद्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन लागेको (सिएचओडी) मा सहभागी हुन साउन ७ गते अष्ट्रेलिया प्रस्थान गर्ने नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। वि.सं २०५६ सालदेखि नेपाली सेना उक्त भेलामा सहभागी हुँदै आएको छ।
उक्त कन्फरेन्समा एशिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरूको उपस्थितिमा विद्यमान अन्तरराष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरूसहित सुरक्षाका विविध विषयमा छलफल हुनेछ। साथै सहभागी राष्ट्रका सेना प्रमुखहरूबीच पनि अन्तरराष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयमा छलफल तथा विचार आदानप्रदान हुने सेनाले जनाएको छ।
यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरूका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भावमा थप विस्तार भई सैन्य कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।

