नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैठौं बैठक बस्दै


काठमाडौं – नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैठौं बैठक आज भारतको नयाँ दिल्लीमा बस्दै छ । भारतीय समयअनुसार शुक्रबार बिहान ११ बजे हैदरावाद हाउसमा बैठक सुरू हुने नयाँदिल्लीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

कालापानी, लिपुलेक, लिम्पियाधुराको सीमा विवादपछि पहिलो पटक दुई देशका उच्च राजनीतिक अधिकारीबीच आज वार्ता हुन लागेको हो । बैठकका लागि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेश मन्त्री एस जयशंकरले गर्नेछन् ।

बैठकमा नेपाली पक्षले सीमा, पारवहन, विद्युत व्यापारलगायत सबै विषयमा कुरा राख्ने तयारी गरेको बताइएको छ । आजको बैठकमा नेपालले कोरोना भाइरसको भ्याक्सिन उपलब्ध गराउन भारतीय पक्षलाई अनुरोध गर्नेछ । भारतीय पक्षले खोप कसरी दिने भन्नेबारे बताउने अपेक्षा गरिएको छ ।

शनिबार बिहान उनले परराष्ट्र मामिलामा रिपोर्टिङ गर्ने भारतीय पत्रकारहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि छ । बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार नयाँदिल्ली गएका थिए ।

प्रतिक्रिया