एउटै पार्टीमा त समस्या हुन्छ, गठबन्धन सरकारमा कुर्सीको समस्या सामान्य हो : प्रधानमन्त्री देउवा


काठमाडौं  – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका छन् ।

स्व.नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन दलहरुबीच देखिने राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाभन्दा अगाडि बोलेका कांग्रेस उपाध्यक्ष धनराज गुरुङले गठबन्धन सरकारमा समस्या आएको भन्दै आगामी चुनावसम्म पनि गठबन्धन कायम राख्नुपर्ने बताएका थिए ।

गुरुङको सोही भनाइमा कांग्रेस सभापति देउवाले भने, ‘धनराजजीहरुले पनि भन्नुभयो, गठबन्धनमा समस्या आयो । एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त समस्या हुन्छ नै यसलाई सामान्य रुपमा लिनुपर्छ । तपाईंहरु प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ ।’ एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै देउवाले गठबन्धन सरकारमा समस्या हुनु सामान्य भएको बताए ।

प्रतिक्रिया