

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं- भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोक नजिकै टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
सूर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे आपसमा ठोक्किंदा दुई जना युवाको मृत्यु भएको हो।
मृतकमध्ये भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने १९ वर्षीय निश्चल चौगुठीको मात्र सनाखत भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डिएसपी राजु पाण्डेले जानकारी दिए। २०–२१ वर्षको जस्तो देखिने अर्का एक युवकको भने सनाखत हुन बाँकी छ। शव भक्तपुर अस्पतालमा राखिएको छ।
दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको थियो।
टिपर चालक दोलखाको मेलुङ–३ घर भइ हाल काठमाडौंको सुकेधारा बस्ने ३५ वर्षीय धन बहादुर थोकरलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

