अफगानिस्तानमा एक वरिष्ठ कमाण्डरसहित आठ लडाकु मारिए


काठमाडौं – अफगानिस्तानमा एक जना वरिष्ठ लडाकु सहित आठ जना मारिएका छन् । अफगानिस्तानको शासन चलाइरहेको तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले तखार प्रान्तमा विद्रोहीका एक जना प्रमुख कमाण्डर सहित आठ विद्रोहीको मृत्यु भएको पुष्टि गरेका हुन् ।

‘तखारको प्रान्तीय राजधानी तालुकान शहरको पुलिस जिल्ला ४ स्थित गुप्तचर महानिर्देशनालयको विशेष अपरेसनको क्रममा प्रमुख कमाण्डर युनुस उजबेकिस्तानी सहित आठ विद्रोही मारिएको र उनीहरू लुकेको ठाउँ नष्ट गरिएको छ ।’ मुजाहिदले ट्वीट गरेका छन् ।

यसैबीच, प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल मुबिन साफीले घटनाको पुष्टि गर्दै तालुकान शहरमा भएको कारबाहीमा आठ सशस्त्र विपक्षी मारिएको र तीन जना घाइते भएको बताएका छन् ।

यद्यपि अधिकारीले सुरक्षाकर्मीको हताहती भए नभएकोबारे भने केही बताएनन् । स्थानीयवासीका अनुसार यस कारबाहीमा सुरक्षाकर्मीलाई पनि क्षति पुगेको थियो तर सरकारी सेनाको सम्भावित क्षतिबारे अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया