अहिलेको सरकार कांग्रेसको एकलौटी होइन : देउवा

कांग्रेस सरकार श्रमिकको समस्या प्रति उदासिन भएको आरोप


काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार कांग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी गर्न नमिल्ने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको आइतबार शुरु राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले विभिन्न विषयमा कांग्रेस नेता र कार्यकर्ताले सरकारले गरेको कााम कारबाहीलाई लिएर दाबी गर्न नमिल्ने बताएका हुन् ।

‘यो कांग्रेसको एकलौटी सरकार होइन’, देउवाले भने, ‘यो नबुझिकन तपाईंहरूले क्लेम गर्ने कुरा छैन् ।’ उनले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने आश्वासन दिए ।

कानून कार्यान्वयनको पक्षमा कांग्रेस उदासिन

ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले कांग्रेसकै नेतृत्वमा सरकार हुँदा आमश्रमिकलाई स्थापित गर्ने गरी कानून आए पनि त्यो कार्यान्वन नभएको गुनासो गरे ।

उनले भने ‘दुर्भाग्यका साथ भन्नुपर्छ, यो कानूनलाई लागू गर्ने दिशामा कांग्रेस नेतृत्व र कांग्रेसकै सरकार उदासिन छ । सभापतिलाई आग्रह गर्छु श्रमिकलाई भोटको मात्र माध्यम नबनाउनुस् ।’ आचार्यले सामाजिक सुरक्षा ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

‘शेरबहादुर देउवाज्यू नै प्रधानमन्त्री भएका बेला श्रम ऐन आयो । समाजिक सुरक्षा ऐनको कार्यान्वयन हुने दिनलाई केपी ओली सरकारले नयाँ युगको सुरुवात भन्दै पोलपोलमा ओलीको फोटो झुन्ड्यायो, तर कार्यान्वयन भएन’, अध्यक्ष आचार्यले भने, ‘ हरेक मजदुरको सुरक्षाको ग्यारेन्टी हुने गरी ऐन कार्यान्वयन नहुँदासम्म नयाँ युग आउँदैन । अब सरकारले कार्यान्वयन गर्नुपर्छ । ’

उनले श्रम क्षेत्रको सम्मान हुने वातावरण निर्माणमा कांग्रेस चुकेको भन्दै उनले भने ‘ शिक्षकहरूलाई वडा तहमा जाँदा पनि हेपिने, बैंकिङ क्षेत्रमा मर्जरको नाममा पद घटुवा गर्ने काम भएको छ । दुर्भाग्यपूर्ण नै भन्नुपर्छ, अहिलेकै सरकारले २५ वटा क्षेत्रमा हड्तालमा रोक लगाएको छ ।’

उनले लोकतान्त्रिक सरकारले संवादबाट काम लगाउनुपर्नेमा जोड दिए । हड्तालमा प्रतिबन्ध लगाउने र डन्डा चलाएर काममा खटाउने लोकतान्त्रिक सरकारको चरित्र नभएको आचार्यले बताए ।

प्रतिक्रिया