हराएका ३० मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण
काठमाडाैं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक कार्यालयमा बिहीवार आयोजित एक समारोहबीच मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
उनले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारीधनी पनि विशेष चनाखो र सजक हुनुपर्ने आवश्यकता औंल्याए । उनले सवारीचालक थप जिम्मेवार बनी सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरूको समेत प्रयोग गर्न अनुरोध गरे ।
प्रहरीले चालू आव २०७८/०७९ मा ४३१ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीमा संलग्न ४३ व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विभिन्न प्रहरी वृत्तमा पठाएको छ ।