गर्मी बढेपछि बाँकेका ३ पालिकामा विद्यालय बन्द


बाँके – गर्मी बढेपछि बाँकेका ती पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

गर्मी बढेका कारण पठनपाठनमा समस्या आएकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोरखबहादुर थापाले जानकारी दिए । उनका अनुसार यही जेठ २७ देखि जेठ ३१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिनेछ ।

अभिभावकको अनुरोधको आधारमा शिक्षा सम्बद्ध सङ्घ-संस्थासँग समन्वय गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको हाे । कोहलपुर नगरपालिकाले पनि शिक्षासँग सम्बन्ध विभिन्न सरोकारवाला सङ्घ-संस्थासँग समनवय गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

मौसममा सुधार भएमा बिदाको समय परिवर्तन हुन सक्ने सूचनामा उल्लेख गरिएको छ । परीक्षाका कार्यक्रम भने नियमित हुने भएका छन् ।यस्तै खजुरा गाउँपालिकाले पनि सबै विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले गर्मी बढेर पठनपाठनमा समस्या आएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको जानकारी दिए । पूर्व निर्धारित परीक्षा र अन्य प्रशासनिक कार्यका लागि प्रशासनिक कक्ष खुला राखिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया