माेटरसाइकलले ठक्कर दिँदा राप्रपा नेता श्रेष्ठकाे निधन


खोटाङ – मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राप्रपाका नेता जीवनकुमार श्रेष्ठको ५६ वर्षको उमेरमा निधन भएको छ । गत शुक्रवार खोटाङको दिक्तेल बजारमा प्रदेश १-०५-००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका श्रेष्ठको उपचारका क्रममा आज आइतवार निधन भएको हो ।

हेलिकप्टरबाट न्युरो अस्पताल बाँसबारी पुर्‍याइएका श्रेष्ठलाई अस्पतालले मृत घोषणा गरेको हो । श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलको रत्नपार्क जिरोप्वाइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा चोट लागेको थियो ।

श्रेष्ठ राप्रपा खोटाङका निवर्तमान अध्यक्ष थिए । झन्डै १५ वर्ष पार्टीको जिल्ला अध्यक्षको भूमिकामा रहेका उनी भर्खरै सम्पन्न पालिका चुनावमा दिक्तेल रुपाकोटमा मेयरका उम्मेदवार हुन् ।

दुर्घटनामा मोटरसाइकलमा सवार दिक्तेल रुपाकोट ५ लफ्याङकी ४८ वर्षीया विष्णुकुमारी राई घाइते भएका छन् । हेलिकप्टरबाट श्रेष्ठसँगै काठमाडाैं पठाइएकी राईको न्युरो अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल चालक लफ्याङका १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घाइते विष्णुकुमारी र पक्राउ परेका अभिषेक आमा छाेरा हुन् ।

प्रतिक्रिया