निजगढ विमानस्थल निर्माण अघि बढाउन संसदीय समितिको निर्देशन
काठमाडौं – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई शीघ्र अघि बढाउन सरकारका नाममा निर्देशन जारी गरेको छ ।
प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण देखिएका कानुनी र अन्य अड्चन हटाई निर्माण कार्य अघि बढाउन भनेको हो ।
सर्वोच्च अदालतले गत बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न दिएको फैसलाको आलोचना गर्दै समितिले तत्काल निर्माण कार्य अगाडि बढाउन निर्देशन दिएको हो ।
समिति सभापति पवित्रा निरौला खरेलले नेपालको अर्थतन्त्रलाई सबल बनाउने भएकाले पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने बताएकी हुन् ।