

कांग्रेसबाट १२ हजार ४६८ जना जनप्रतिनिधि निर्वाचित

निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सम्पन्न भएका पालिकाहरुमा सबैभन्दा बढी कांग्रेसका उम्मेदवारले जितेका छन् ।
पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन् ।
आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए ।
वैशाख ३० गते भएको निर्वाचनमा हालसम्म देशमा कूल ३४ हजार २६९ जना जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । अब ९५२ जनप्रतिनिधि विजयी भएको घोषणा हुन बाँकी रहेको छ ।

