


ट्रम्पले गरे संसद तोडफोडको निन्दा, सत्ता हस्तान्तरणका लागि भए तयार

एजेन्सी – आफैले उत्तेजित पारेको जत्थाले देशको संसदमा हिंसा भड्काएको २४ घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाको निन्दा गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् एक भिडियो सन्देश जारी गर्दै ट्रमपले हिंसा भड्काउन संलग्न भएकाहरुप्रति खेद व्यक्त गरेका हुन्।
संसदमा भएको हिंसाबारे शुरुमा कुरा राख्न चाहन्छु भन्दै ट्रम्पले भनेका छन्, ‘सबै अमेरिकी जस्तै यो घटनाबाट म पनि दुःखी छु । मैले तुरुन्तै घुसपैठ गरेका व्यक्तिहरुलाई निकाल्न र सुरक्षा कायम गर्न निर्देशन दिएको थिए ।’
अमेरिकालाई सधैँ एक कानुनी व्यवस्था भएको देश बनाइराख्नु पर्ने भन्दै उनले संसदमा हिंसा मच्चाउनेहरुले अमेरिकी प्रजातन्त्रलाई अपवित्र बनाएको पनि उल्लेख गरेका छन् ।
हिंसामा संलग्नहरुले देशको प्रतिनिधित्व नगर्ने भन्दै उनले भनेका छन्, ‘जो मानिस हिंसात्मक घटनामा संलग्न थिए उनीहरु हाम्रो देशको प्रतिनिधित्व गर्दैनन्, र जसले कानुन तोडेको छ उसले कारबाही भोग्नुपर्छ ।’
राष्ट्रपति ट्रम्पले सन्देशमा ‘व्यवस्थित’ सत्ता हस्तान्तरणका लागि तयार भएको उल्लेख गर्दै भने, ‘नयाँ प्रशासन जनवरी २० मा आउने छ र सुचालु, सुव्यवस्थित र निर्वाध सत्ताको हस्तान्तरणका लागि म बाचा गर्दछु ।’
अमेरिकी संसदमा आक्रमण गराएपछि ट्रम्पको ट्वीटर, फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालका खाता बन्द गरिएको थियो । ट्वीटरले खोले पनि फेसबुक र इन्स्टाग्रामले भने अझै बन्दै गरेका छन् ।
आफ्ना अन्ध समर्थकहरुलाई भड्काएर संसदमा आक्रमण गराइएको भन्दै ट्रम्पलाई अपदस्थ गरिनुपर्ने दबाब उनकै पार्टी रिपब्लिकनमा पनि बढेपछि २४ घण्टापछि ट्रम्पले घटनाको निन्दा गरेका हुन् ।

