मोरङको रङ्गेलीमा मतपत्र बढी भेटिएको भन्दै झडप, रोकियाे मत गणना


माेरङ – मतपत्र बढी भेटिएको भन्दै मोरङको रङ्गेली नगरपालिकामा झडप भएको छ । झडपमा केही प्रहरी र प्रर्दशनकारी घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ ।

मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि नेपाली कांग्रेस कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । केहीबेर तनावग्रस्त भएको रङ्गलीको मतगणना क्षेत्र अहिले सामान्य छ ।  रोकिएको मतगणना भने सुरु हुन सकेको छैन ।

मतगणनाका क्रममा वडा नम्बर ७ मा ९९ वटा बढी मतपत्र भेटिएपछि कांग्रेसले मतगणना रोकेर प्रदर्शन गरेको थियो । वडा नम्बर ७ मा तीन हजार चार सय ४२ मत खसेको र गणनाका क्रममा ९९ वटा मतपत्र बढी भेटिएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया