सात वर्षअघि बलात्कृत भएकी युवतीको घरमा पुग्यो प्रहरी टोली


काठमाडौं – सौन्दर्य प्रतियोगिताका आयोजकले सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी युवतीको घरमा प्रहरी पुगेको छ ।

हदम्यादका कारण पीडकमाथि कारबाही नहुने भन्ने सुनेपछि विक्षिप्त अवस्थामा अर्को भिडियो सार्वजनिक भएपछि प्रहरी टोली उनको घरसम्म पुगेको हो ।

काठमाडौँ उपत्यकामा हुने जघन्य प्रकृतिको अपराध अनुसन्धान गर्ने उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाको नेतृत्वमा काउन्सिलसहितको टोली उनको घरमा पुगेको छ ।

बुधवार सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो सार्वजनिक गरेकी युवतीले यसअघि प्रहरीसँग सम्पर्कमा आउन चाहेकी थिइनन् । भिडियो सार्वजनिक भएपछि मानवअधिकारकर्मी र अभियन्ताहरूले उनको खोजी गरेका थिए ।

जबरजस्ती करणी सम्बन्धी कसुरमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद छ । जस कारण उनले न्याय नपाउने अवस्था भएको भन्दै आलोचना भइरहेको छ । उनको पक्षमा युवाले शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि धर्ना दिएका छन् । उनीहरूले बलात्कारको कसुरमा राखिएको हदम्याद हटाउन माग गरेका छन् । शुक्रवार संसदमा पनि यो विषयले प्रवेश पाएको छ ।

प्रतिक्रिया