पाल्पाको रम्भामा पुनः मतदान गराउन माग


बुटवल – पाल्पाको रम्भा गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएपछि अवरुद्ध भएको मतगणना ५ दिनसम्म पनि फेरि सुरु हुन सकेको छैन।

गाउँपालिकाको वडा न. ५ बाट मतगणना सुरु भएको तर सोही वडामा खसेभन्दा बढी मतपत्र भेटिएपछि सुरु भएको विवाद मिल्न नसक्दा पुन: गणना हुन नसकेको हो।

निर्वाचन सकिएलगत्तै मतगणना सुरु गरिएपनि खसेभन्दा ७४ मत फर्जी भेटिएपछि गठबन्धनमा रहेका दलले विरोध गरेका हुन्। फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग गरेपछि रोकिएको मतगणना सुरु गर्न दलहरुबीच सहमतिको प्रयास भइरहेको निर्वाचन अधिकृत कृष्ण प्रसाद भण्डारीले बताए।

‘मतगणना ‘ट्याली’ गर्ने क्रममा दलका प्रतिनिधि र कर्मचारीको तथ्यांकमा केही कमजोरी भएको हो,’ निर्वाचन अधिकृत भण्डारी, ‘दलहरुबीच छलफल भइरहेकाले शुक्रबारबाट मतगणना शुरु हुन सक्छ।’

रम्भा गाउँपालिकाका नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मङ्गोल नेसनल अर्गनाइजेसनले विज्ञप्ति जारी गर्दै वडा नं ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ मत फर्जी भेटिएको बताएका छन्।

चार दलका प्रतिनिधिहरूले मतपेटिका ढुवानी गर्ने क्रममा गठबन्धन दलका प्रतिनिधिहरू सहभागी नगराइएको, आवश्यक बिजुली बत्तीको वैकल्पिक व्यवस्था नगरिएको, मतगणना स्थगित भइसकेपछि पनि दलका प्रतिनिधि नराखिएको, एक पक्षीय व्यक्तिहरूलाई प्रवेश दिइएको जस्ता आरोप लगाइएको छ।

मतगणनामा संलग्न कर्मचारीलाई कारबाही गर्न समेत माग गठबन्धनले गरेका छन्। गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका तर्फबाट दुर्गा प्रसाद अधिकारी अध्यक्षका उम्मेदवार हुन्। अध्यक्षमा एमालेका उम्मेदवार केही मतले अघि छन्। ५ वटा वडा रहेको रम्भा गाउँपालिकामा ५ नम्बरबाटै मतगणना शुरु भएको थियो। वडा नं ५ ताहुँमा जम्मा १ हजार ९२२ मत खसेको थियो।

प्रतिक्रिया