

ओलीको निर्वाचन क्षेत्रमा एमालेका विद्रोही उम्मेदवार भण्डारीले जिते वडाध्यक्ष

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को गौरादह नगरपालिका वडा नंम्वर ३ को वडाध्यक्षमा एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका दिलिप भण्डारी विजयी भएका छन् ।
गौरादह नगरपालिकाको ३ नम्वर वडाध्यक्षमा एमालेबाट निर्वाचित भएका गजेन्द्र घिमिरेले सो वडाको अध्यक्षमा पुनः उम्मेदवारी दिए पछि भण्डारी एमालेसँग विद्रोह गरी वडाध्यक्षको उम्मेदवार बनेका थिए ।
स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिष्पर्धामा उत्रिएका भण्डारीले एक हजार ९४ मत पाएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका घिमिरेले पाँ सय ८६ मत मात्र प्राप्त गरेका थिए ।
भण्डारीले नेपाली कांग्रेस र नेकपा माओबादीसहितको संयुक्त गठबन्धनको तर्फबाट उम्मेदवार भएका माओबादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार शेरबहादुर कार्कीको भन्दा दोब्बरभन्दा बढी मत ल्याएका हुन् । कार्कीले चार सय ७२ मत ल्याएका थिए ।कार्कीलाइ गठबन्धनले अध्यक्षकाे उम्मेदवार बनाउने निश्र्चित भएपछि उनले शिक्षक पेशाबाट राजिनामा दिएका थिए ।
पूर्वसांसद दीपक कार्की, पूर्वप्रदेश मन्त्री तथा एमाले नेता हिक्मत कार्कीको वडामा एमालेका आधिकारिक उम्मेदवार नै पराजित भएपछि एमालेलाई ठूलो झड्का लागेको छ । ०७४ को आमनिर्वाचनमा झापा ५ बाट एमाले अध्यक्ष ओलीसँग प्रतिष्पर्धा गरेका कांग्रेसका नेता खगेन्द्र पाण्डव अधिकारीको वडामा माओबादीसँग गठबन्धन गर्दा समेत स्वतन्त्र उम्मेदवारले विजय हासिल गर्दा कांग्रेसलाई पनि झड्का लागेको छ ।
स्वतन्त्रमा जेब्रा चुनाव चिन्ह लिएर उम्मेदवार भएका भण्डारीलाई उम्मेदवारी फिर्ता लिन एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत दबाब आएको थियो । तर, उनले एमाले र कांग्रेसका शुभेच्छुक मतदाताको मत पाएर विजयी बन्न सफल भएका हुन् ।

