

उमा कुङफुमा नेपाललाई तीन स्वर्ण पदक

काठमाडाैं – उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण पदक जितेको छ। युकेको ओर्सेस्टरमा १५ मे देखि सुरुभएको प्रतियोगितामा सञ्जयराज पुटुवारले २ तथा भूपेन्द्र गुरुङले १ स्वर्ण जितेका हुन्।
प्रतियोगितामा जजको भूमिकामा नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामा समेत रहेका छन्। सञ्जयले छाङ छ्वान र वेपन गरी २ स्पर्धामा नेपालको चुनौती प्रस्तुत गरेका थिए। उनले छाङ छ्वानमा ९ दशमलव ७ तथा वेपनमा ९ दशमलव ८ अंक जोड्दै शीर्ष स्थान हात पारे।
सञ्जयले यसअघि अस्ट्रियामा भएको विश्व च्याम्पियनसिप, बंगलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।
भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा ८ दशमलव ९ अंक हासिल गर्दै स्वर्ण चुमे। यसअघि भुपेन्द्रले जर्मनीमा भएको विश्व मार्सल आर्ट्स गेम्समा स्वर्ण जितेका थिए।
प्रतियोगितामा विभिन्न ११ राष्ट्रका करिब ५५० खेलाडीले सहभागिता जनाएको अध्यक्ष लामाले जानकारी गराए। अन्तर्राष्ट्रिय निर्णायक लामाले डेन्मार्क, जर्मनी, थाइल्यान्ड, अमेरिकालगायतका राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा जजको भूमिका निर्वाह गरिसकेका छन्।

