भरतपुरमा हत्या भएका अनिल परियारको अन्त्येष्टि


काठमाडौं – धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली काँग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ।

स्थानीय प्रशासन र पीडित पक्षबिच सहमति भएपछि मङ्गलवार साँझ अन्त्येष्टि गरिएको हो। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पीडितलाई राहतका लागि गृह मन्त्रालय लेखी पठाउने, शवको व्यवस्थापन गर्ने, अभियुक्तको यथाशीघ्र खोजी गर्ने र घटनापछि भएका क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको हो।

यससँगै भरतपुर अस्पतालको शवगृहमा रहेको परियारको शव परिवारले दाहसंस्कार गरेका हुन्। परियारको आइतबार साँझ अबेर भरतपुर महानगरपालिका-७ कृष्णपुरमा हत्या भएको थियो। बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठको उपस्थितिमा सहमति भएको हो। श्रेष्ठले राहत तत्काल दिलाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले कुराकानी गरेको बताएका छन् ।

स्थानीय प्रशासनले दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग आफ्नो रहेको बताए। काँग्रेस चितवनले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न र सहिद घोषणा गर्न माग गरेको छ। जिल्ला सभापति राजेश्वर खनालले सहिद घोषणाका लागि पार्टीको केन्द्रमा लेखी पठाउने बताए।

हत्यामा संलग्न भएकाहरूको पहिचान भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। हत्यापछि काँग्रेस र तिनका भातृ सङ्गठनले विरोध प्रदर्शन गर्दै आएका थिए।

प्रतिक्रिया