शिक्षा मन्त्रालयमा कार्यरत कर्मचारीलाई छात्रवृत्तिमा कोरियामा पढ्ने अवसर


काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र यसअन्तर्गत कार्यरत निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरियामा अध्ययन र तालिम गर्ने अवसर आएको छ।

मन्त्रालयले सूचना जारी गरी छात्रवृत्तिमा कोरियाका विभिन्न विश्वविद्यालयमा विभिन्न विषयमा अध्ययन र तालिमका लागि योग्य र इच्छुक उम्मेदवारसँग आवेदन माग गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार आवेदन माग गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले तोकेका विश्वविद्यालय र विषय अध्ययनका लागि तोकिएका आधार भएका इच्छुक कर्मचारीलाई शिक्षा मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखामा वैशाख ३१ गतेभित्र आवेदन दिन भनिएको छ।

छात्रवृत्ति मनोनयनमा सम्बन्धित सेवा, समूह र श्रेणीभित्रका समावेशी महिला, आदिवासी, जनजाति, मधेसी, दलित, अपांगता भएका, पिछडिएका क्षेत्र तथा हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी समय काम गरेका आधारमा कर्मचारीलाई प्राथमिकता दिई मनोनयन गर्न सबै निकायलाई आग्रह गरिएको छ।

कोरियाका चार विश्वविद्यालयमा ६ वटा विषय छात्रवृत्तिमा अध्ययन गर्न सबै निकायबाट आएको आवेदनबाट मनोनयन गरी अध्ययनका लागि पठाइने जानकारी दिइएको छ।

प्रतिक्रिया