

सञ्चार मन्त्रालय डलर सिफारिस गर्न सहमत, तत्काल इन्टरनेट सेवा नरोकिने

काठमाडाैं – तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने भएको छ। नेपाली इन्टरनेट सेवा प्रदायकले विदेशी कम्पनीबाट ब्याण्डविथ किनेको रकम ६ महिनादेखि नतिर्दा चुनावको बेला इन्टरनेट काटिने चेतावनी जारी गरेका थिए।
तर इन्टरनेट सेवा प्रदायकहरुको संस्था नेपाल आइस्पान र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भएको छलफलपछि मन्त्रालयले आइस्पानलाई डलर सिफारिस नराेक्ने सहमति भएको छ ।
आज बिदा परेकाले सिफारिस हुन नसक्ने तर भोलिदेखि नै डलर सिफारिसको काम हुने आइस्पानका अध्यक्ष सुधिर पराजुलीले बताए ।
‘इन्टरनेट सेवा रोकिनु भनेको देश नै ठप्प हुनु जस्तै हो, सेवा जारी राखेरै समस्याको समाधान गर्नुपर्छ, डलर सिफारिस नरोकौँ ।’ मन्त्रीको भनाइ उदृत गर्दै पराजुलीले बताए। नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको टाटा, एयरटेल र सिफ्फी लगायतका कम्पनीबाट ब्यान्डविथ खरिद गर्दै आएका छन् ।
महालेखा परीक्षकको रिपोर्टमा भएको बेरुजुलाई आधार मानेर मन्त्रालयले डलर सिफारिस रोक्दा सेवा प्रदायकले विदेशी कम्पनीलाई रकम तिर्न पाएका थिएनन् ।

