बुधबारबाट उद्योगमा घोषित लोडसेडिङ हुने


काठमाडौं – बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ घोषणा हुने जनाएकाे छ ।

मागअनुसार बिजुली नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गर्नेसम्बन्धी सूचना जारी गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘अहिले भारतबाट बिजुली पाउन छाड्यो । करिब १०र१५ दिन हामीलाई औद्योगिक ग्राहकको बिजुली काट्नुपर्ने हुनसक्छ,’ घिसिङले भने, ‘दिउँसो त बिजुली काट्दैनौं । पिक समय र रातको समयमा कुन उद्योगमा कति बिजुली काटिन्छ भन्ने पूर्व जानकारी दिन्छौं ।’ अब उद्योगहरूले हरेक दिन भोलिपल्ट कति समय बिजुली काटिन्छ भन्ने पूर्व जानकारी पाउने छन् । हरेक दिन बेलुका ६ बजेसम्ममा त्यस्तो जानकारी उपलब्ध गराइसक्ने प्राधिकरणले जनाएको छ ।

घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन ।

अहिले नेपालमा करिब ३ सय मेगावाट बिजुली अपुग रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया