माओवादीका मन्त्री बराल चढ्ने गाडीको ठक्करबाट घाइते युवकको मृत्यु


पोखरा – नयाँ वर्षको दिन गण्डकीका आर्थिक मामिला तथा योजना मन्त्री राम्जी बराल (जीवन) चढ्ने ग १ झ ४४५ नम्बरको गाडीको ठक्करबाट दुई जना घाइते भए । तनहुँ शुक्लागण्डकी वडा नं. २ एक्लेखेतका मिन बहादुर पाइजा र उनकी श्रीमती दानुमाया पाइजा घाइते थिए । पोखरा वडा नं. ३२, गगनगौंडा नजिकै खुदीमा वैशाख १ गते बिहान पौने ९ बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते मिनबहादुरको उपचारकै क्रममा दुर्घटनाको पाँचौँ दिनमा ज्यान गएको छ । ३५ वर्षीय उनको मनिपाल अस्पतालमा उपचारकै क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी  दिए ।

ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा पाइजा दम्पती सवार थिए । गाडीको ठक्करबाट घाइते पाइजा दम्पतीलाई पोखराको मनिपाल अस्पताल लगिएको थियो । दुर्घटनापछि ५ दिनसम्म होस नआएका मिनबहादुरको सोमबार मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीले गाडी तीव्र गतिमा हुईंकिएको जनाएका छन् । एक प्रत्यक्षदर्शीले भने – गाडी निकै स्पीड थियो । यो गाडीले कति बेला कुन चाहिँलाई हान्ने हो भन्ने लागिरहेको थियो हामीलाई ।

प्रतिक्रिया