

ओली र सिटौलालाई लिङदेनको चुनौति
हिन्दु राष्ट्रको पक्षमा मुश्लिम अध्यक्ष लागेपछि...

भद्रपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका नेता एवम् कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गृह जिल्ला झापामा गम्भीर चुनौति दिएका छन् ।
लिङ्देन अध्यक्ष रहेको राप्रपाका १ नम्वर प्रदेश अध्यक्ष राम थापालाई नेपाली कांग्रेसले दमक नगरपालिकामा समर्थन गरेर एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा चुनौति दिएसँगै सिटौलाको गृहनगर भद्रपुरसहित झपा क्षेत्र नंम्वर ३ चार स्थानीय तहमा कुनै दलसँग तालमेल नगरी राप्रपा एक्लै उठ्ने भएको छ ।
लिङ्देन र सिटौला दुवै झापाको क्षेत्र नं ३ बाट राजनीति गर्दै आएका छन् । २०७४ को संघीय निर्वाचनमा एमालेले समर्थन गरेपछि लिङ्देन सांसदमा निर्वाचित भएका थिए भने सिटौला पराजित भएका थिए ।
झापाको क्षेत्र नं. तीनमा पर्ने भद्रपुर नगरपालिकामा राप्रपा भने कांग्रेस र एमालेको तुलनामा कमजोर भए पनि उसले कांग्रेस र एमाले कुनै पनि दलसँग तालमेल नगर्ने भएको छ । भद्रपुरमा सत्तारुढ दलबीच तालमेल गरिएको छ । जहाँ कांग्रेसले नगर प्रमुखसहित ६ वटा वडाध्यक्ष, माओबादीले उपप्रमुखसहित ३ वटा वडाध्यक्ष र नेकपा एसले १ वटा वडाध्यक्ष लिने सहमति भएको छ ।
भद्रपुरमा कांग्रेसले पार्टीको ३ नम्वर क्षेत्रिय सभापति समेत रहेका गणेश पोखरेललाई अघि सार्ने निश्चित भएको छ । एमालेले हालका मेयर जीवन श्रेष्ठलाई नै अघि सारेको छ । एमालेले राप्रपाको समर्थन लिन खोजे पनि लिङ्देनले अश्विकार गरेका छन् ।
झापा क्षेत्र नं ३ मा पर्ने कचनकवल गाउँपालिकामा सत्तारुढ गठबन्धनबीच तालमेल गरे पनि राप्रपाले आफ्नो बलियो पकड रहेको भन्दै एमालेसँग तालमेल समेत नगर्ने भएको छ । कचनकबल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले मुश्लिम समुदायको भेला र जुलुस गरी हिन्दु राष्ट्रको अभियान चालेपछि हिन्दु बाहुल्य कचनकबलमा कांग्रेस र एमालेलाई चुनौति थपिएको हो ।
कचनकबलमा कांग्रेसले अध्यक्षसहित ४ वटा वडाध्यक्ष उठउने भएको छ भने माओबादीले एक उपाध्यक्षसहित १ वडाध्यक्ष, नेकपा एस र जनता समाजबादीले १–१ वडाध्यक्ष उम्मेदवार उठाउने भएका छन् । कचनकबलका अध्यक्ष आलम राप्रपाका नेता हुन् ।
झापाकै ३ नंम्वर क्षेत्रमा पर्ने बारदशी गाउँपालिकामा भने कांग्रेसले अध्यक्षसहित ३ वडाध्यक्ष आफूले राखेर माओबादीलाई उपाध्यक्षसहित ३ वडाध्यक्ष र नेकपा समाजबादीलाई १ वडाध्यक्ष दिने भएको छ ।
यस्तै, राप्रपाले यसअघिको स्थानीय निर्वाचनमा विजय हासिल गरेको हल्दिबारी गाउँपालिकामा कांग्रेसले गाउपालिका अध्यक्षसहित ४ वडाध्यक्ष लिने तथा उपाध्यक्ष र एक वडाध्यक्ष एमालेलाई दिने भएको छ । वाकी २ वडाध्यक्षमा भने जनता समाजबादी र नेकपा एसलाई दिने विषयमा छलफल भइरहेको कांग्रेस झापाका एक नेताले बताए ।
राप्रपाले झापाको क्षेत्र नं ३ का कचनकबल र हल्दिबारी गाउँपालिकामा अध्यक्षसहित बहुमत सदस्य जिताएको थियो भने क्षेत्र नं ५ को गौरिगंज गाउँपालिकामा अध्यक्ष जिताएको थियो । झापा क्षेत्र नं ३ का स्थानीय तहमा हुने निर्वाचनको परिणामले आगामी संसदीय निर्वाचनमा लिङ्देन र सिटौलामध्ये कसको पल्ला भारी होला भन्ने स्पस्ट संकेत गर्ने देखिएको छ ।

