
सशस्त्र प्रहरी महानिरीक्षक खनालको फौजी परम्परा अनुसार बिदाई
काठमाडौं – सेवानिबृत्त भई जान लागेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्परा अनुसार स-सम्मान बिदाई गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा चैत्र २८ गते आयोजित विशेष समारोहका बीच उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेलले फुलमालाका साथ मायाको चिनो प्रदान गर्दै हार्दिक बिदाई गरेका हुन् ।

यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाललाई सो संघकी उपाध्यक्ष श्रीमती ज्योती के.सी.ले फुलमालासहित हार्दिक बिदाई गरिन् ।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.लाई संगठनको सम्पूर्ण जिम्मेवारी बर-बुझारथ गरे । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले त्यसैअवसरमा सांगठानिक बिकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेललाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरे ।

सम्बोधनको क्रममा महानिरीक्षक खनालले राज्यप्रदत्त जिम्मेवारी निर्वाहको क्रममा आफ्नो प्राणको समेत आहुती दिने संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीहरुको योगदानको स्मरण गर्दै कर्तव्य पालनाको सिलसिलामा घाईते भई अंगभंग भएका राष्ट्रसेवकहरुको समेत सिघ्र स्वास्थ्य लाभको कामना गरे ।
उनले संगठन आजको यस स्थानमा आई पुग्नुमा संगठनका पूर्वज नेतृत्व, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले पुर्याएको योगदानको स्मरण गर्दै सकल दर्जाका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आ-आफ्नो नियुक्तिका क्षेत्रहरुमा खटिई प्रदर्शन गरेको कार्यक्षमता, कर्तव्य परायणता तथा राष्ट्र र नागरिकको सेवा, सुरक्षा, उद्वारमा देखाएको पेशागत क्षमताको समेत मुक्तकण्ठले प्रशंसा गर्दै सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीको योगदानले सांगठानिक बिकासमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरु उत्तरी सीमानाको हिमाली क्षेत्रको कठ्याङ्ग्रीने जाडोदेखि दक्षिणी तराईको हावाहुरी तथा प्रचण्ड गर्मी रहेका ठाउँहरुमा व्यक्तिगत स्वार्थलाई थाती राखी अहोरात्र खटिई आम नागरिकको सुरक्षा, सीमा अपराध नियन्त्रण, आपद् विपत् पीडित नागरिकको उद्वार तथा चोरीनिकासी तथा पैठारी नियन्त्रणमा खटिई प्रदर्शन गरेको उच्च व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादन तथा कोभिड–१९ महामारी नियन्त्रण तथा संक्रमितको उपचारमा नेपाल एपीएफ अस्पताल मार्फत प्रदर्शन गरेको सेवा तथा समर्पणभावको समेत नेपाल सरकार तथा विभिन्न निकायबाट प्रशंसा भईरहेको उल्लेख गरे ।
समारोहमा सम्बोधनको क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स–सम्मान विदाई भएकोमा हार्दिक बधाई दिँदै उनको अवकाशपछिको जीवन सुखमय वितोस भन्ने सुभेच्छा समेत व्यक्त गरे ।
उक्त विदाई समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालको संचार मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो । समारोहमा नेपाल सरकार गृहमन्त्रालयका सहसचिव टेकबहादुर के.सी. लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु र सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।



कागजपत्र |
