पशुपति क्षेत्रमा ३ दिन हरसिद्धिको नाच प्रस्तुत गरिने
काठमाडाैं – पशुपति क्षेत्रमा शुक्रवारदेखि ३ दिनसम्म ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्त्वको हरसिद्धिको नाच प्रदर्शन गरिने भएको छ ।
श्री श्री श्री हरसिद्धि (जलद्योः) नाच मूल समितिले बिहीवार जयवागेश्वरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ३ दिनसम्म नाचसहित परम्परागत नाटक प्रदर्शन गर्न लागिएको जानकारी गराइएको छ ।
जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका–२८ बाट १०० जना देवगण आउने जानकारी गराइएको छ । देवगणलाई चावहिलको गोल्डेन लाइट पार्टी प्यालेसमा बस्ने, खाने व्यवस्था गरिएको मूल समितिका संयोजक दिलीप वैद्यले जानकारी दिए ।
हरसिद्धि नाच राजा विक्रमादित्यका पालामा शुरू भएर उनकै पालामा रोकिएको थियो । विक्रम संवत् ११३३ सालमा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको तथ्य विभिन्न भाषा वंशावलीमा पाइने पशुपति क्षेत्रको संस्कृतिका ज्ञाता मुकुन्दराज वैद्यले बताए ।
अमर मल्लले शुरू गरेपछि पनि बीचमा यो नाच रोकिएको थियो । जसलाई राजा प्रताप मल्लले फेरि शुरू गरेका हुन् । विक्रम संवत् २०६६ सालअघि पनि करीब आधा शताब्दी जात्रा लोप भएको थियो ।
हरसिद्धिका स्थानीय धर्मगोविन्द महर्जन पञ्चायतकालमा गुठी संस्थान, पशुपति र हरसिद्धि क्षेत्रका स्थानीयबीच समन्वय हुन नसक्दा जात्रा रोकिएको बताउँछन् । तीनै वटा पक्षको समन्वयमा ५० वर्षपछि ऐतिहासिक महत्त्वको नाच सहितको जात्रा फेरि शुरू भएको छ ।
जात्रा शुरू भएको इतिहासअनुसार करीब २ हजार वर्षअघिदेखि नै नेपालमा गीति नाटक परम्परा रहेको पुष्टि हुने पनि संस्कृतिविद् वैद्यले बताए । जात्रा चैत २५ गते पशुपति आई २७ गते बिदा हुने जनाइएको छ ।
जात्राका लागि २० लाख रुपैयाँ बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । आवश्यक बजेट पशुपति क्षेत्र विकास कोष, स्थानीय र सहयोगीबाट जुटाइने भएको छ ।