सुरू भयो ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान
काठमाडौँ- मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ। जलवायु परिवर्तन, विश्वव्यापी उष्णताबारे सचेतना जगाउन गोरखादेखि सुरु भएको अभियानअन्तर्गत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमूलक र्याली र कोणसभा गरिएको छ।
‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा, सबैको अधिकार’ भन्ने मूल नाराका साथ २१ जिल्लामा ‘युद्ध निषेध : शान्ति विशेष’ र लागुऔषध तथा दुर्व्यसनीविरुद्ध अभियान सञ्चालन गरिने समाजका महासचिव रामकृष्ण बरालले बताए। मुस्ताङको जोमसोम, मुक्तिनाथ, कोरला नाका पुग्ने अभियानको टोली फर्किएर स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, तौलिहवा, भैरहवा, सुनवल, बर्दघाट र गैँडाकोट हुँदै चैत २५ गते चितवनमा समापन गरिने बरालले बताए। प्रत्येक ठाउँमा तापक्रम वृद्धिले पारेको असर र न्यूनीकरणका उपायसम्बन्धी पर्चा वितरण, सडकमा र्याली र कोणसभा गरिने समाजले जनाएको छ।
समाजका सभापति गोविन्द खनालले मानव जीवनसँग सम्बन्धित हिमाल र सभ्यतासँग जोडिएको नदीलाई जोगाउन नागरिक सचेत बन्नुपर्ने अवस्था आएको बताए। ‘नदी जोगाउनका लागि हिमालय, वातावरण र पर्यावरण जोगाउन आवश्यक छ’, उनले भने, ‘हाम्रा कुकर्मका कारणले हिमाल नाङ्गिँदै गएका छन् । यसले गर्दा हिमनदी सुक्ने, जलचर लोप हुँदै जाने स्थिति सिर्जना भएको छ।’