टिपरको ठक्करबाट बालिकाहरूको निधन भएपछि सुन्दरीजलक्षेत्र तनाबग्रस्त, प्रहरीले चलायो अश्रुग्याँस


काठमाडौं – टिपरले ठक्कर दिँदा एउटै घरका दुई जना बालिकाको मृत्यु भएपछि काठमाडौंको सुन्दरीजल क्षेत्रमा तनाव सिर्जना भएको छ।

बुधबार बिहान गोकर्णेश्वरस्थित मेलम्ची चोकमा स्कुल जाँदै गरेका एकै घरका दुई दिदीबहिनी चढेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुई बालिकाको मृत्यु भएको थियो भने मोटरसाइकल चालक बुवा गम्भीर घाइते भएका छन् ।

बालिकाहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा ढुंगामुढा गरेका थिए। उनीहरूले टिपरमा आगजनीसमेत गरेका छन्।

अहिले त्यहाँ बाक्लो संख्यामा प्रहरी टोली खटिएको छ। प्रहरीले स्थानीयमाथि अश्रुग्याससमेत प्रहार गरेको छ।

वर्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत बालिकाहरु सृष्टि घिसिङ र श्रेया घिसिङको मृत्यु भएको छ भने बाबु रोहन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घिसिङले मोटरसाइकलमा सृष्टि र श्रेयालाई राखेर स्कुल लैजाँदै थिए। बा ४ ख ६९६२ नम्बरको खाली टिपरले मोटरसाइकललाई ठक्कर दिएको थियो।

चालकले टिपर ब्याक गरेको आरोप छ। घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तस्बिरहरूः गोकर्णेश्वर खबर

प्रतिक्रिया