पशुपतिमा १०० कोठे वृद्धाश्रम बनाउँदै एनआरएनए, एकैदिन उठ्यो ३ करोड ५६ लाख


काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पशुपति क्षेत्रमा १०० कोठे सुविधा सम्पन्न बृद्धाश्रम निर्माण गर्ने भएको छ ।

सोमबार सम्पन्न नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बृद्धाश्रमको निर्माण गर्ने यसअघिको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । जसअनुसार यस परियोजना सम्पन्न गर्नको लागि नवनिर्वाचित अध्यक्ष कूल आचार्यको १ करोड सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट २ करोड ५६ लाख ५० हजार २२२ गरी जम्मा तीन करोड छपन्न लाख पचास हजार दुइ सय बाइस रुपैयाँ को प्रतिबद्धता प्राप्त भएको एनआरएनएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै आगामी कार्यकाल संचालनको लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा हेमराज शर्माको नेतृत्वमा महासचिव गौरीराज जोशी र डा केशव पौडेलका साथै प्रवक्ताद्वय रहने गरी कार्यदल गठन गरिएको छ । विभिन्न एनसिसिहरुमा भएका समस्या समाधानका लागि महासचिव द्वय गौरीराज जोशी र डा केशव पौडेलाई क्षेत्रीय संयोजकहरुसँग समन्वय गरि समाधान गर्ने जिम्मा दिइएको छ ।

सोही बैठकमा संघका नव निर्वाचित अध्यक्षहरुले पदाधिकारी तथा आइसिसि सदस्यहरुलाई सपथग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरिएको प्रवक्ता शिवकुमार बरुवाल र सोम सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया