हाइकिङका लागि चिनियाँ विदेशमन्त्री शिवपुरीमा : सुरक्षाका लागि करिब दुई सय प्रहरी अगुवा पछुवामा


काठमाडौं – शनिबार बिहानै चिनियाँ परराष्ट्रमन्त्री वाङ यी हाइकिङ गर्न शिवपुरी राष्ट्रिय निकुञ्‍ज क्षेत्र पुगेका छन् । उनी आज साढे ८ बजे उनी निकुञ्‍ज क्षेत्र पुगेका हुन् ।

वाङको तारकेश्वरबाट ककनीहुँदै गुर्जुभञ्ज्याङ निस्कने गरी हाइकिङ जाने कार्यक्रम छ । हाइकिङ जाने रुटमा उनको सुरक्षामा खटिएका सुरक्षा अधिकारीबाहेक चार गुणा बढी सादा पोसाकमा प्रहरीहरू तैनाथ गरिएको छ । यसमा पोशाकमा ३५ जना र सिभिलमा १५० प्रहरी खटिएका छन् ।

हाइकिङ सकिएपछि उनी होटल फर्किने छन् । त्यसपछि उनी राजनीतिक भेटघाटमा व्यस्त हुनेछन् । वाङले दिउँसो साढे तीन बजे परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा एक्लाएक्लै भेट्ने छन् । त्यसपछि लगत्तै दुई देशका प्रतिनिधिमण्डलबीच भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यहीँ क्रममा विगतमा भएका सहमतिपत्रमा छलफलसँगै एक दर्जनभन्दा बढी नेपाल र चीनबीच थप विभिन्न द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुनेछ । केरुङ-काठमाडौँ रेल साम्भाव्यता अध्ययन, रातमाटेबाट केरुङसम्मको प्रसारण लाइनसम्बन्धी साम्भाव्यता अध्ययन, ऊर्जा क्षेत्रमा सहकार्यलगायतका एजेन्डामा छलफल हुने मन्त्रालयले जानकारी दिएको छ ।

साझ पौने ६ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि उनी प्रधानमन्त्री निवास बालुवाटार जानेछन् ।

प्रतिक्रिया