
भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एमाले नेता तिमिल्सिनाको मृत्यु
भक्तपुर- भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार राति भएको दुर्घटनामा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का रमेश तिमिल्सिनाको मृत्यु भएको हो। उनी नेकपा एमालेका स्थानीय नेतासमेत रहेको बताइएको छ।
शुक्रबार राति ८ बजे भक्तपुरको सिर्जनानगरस्थित बस पकेटमा राधेराधेबाट सल्लाघारीतर्फ आउँदै गरेको बा ४ ख २००१ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश न ३–०२–००६ प ६११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
ठक्करबाट मोटरसाइकलमा सवार तिमिल्सिना गम्भीर घाइते भएका थिए। उनलाई डाक्टर इवामुरा अस्पताल लगिए पनि उपचारका क्रममा राति साढे ८ बजेतिरै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीले दुर्घटनामा परेका मोटरसाइकल र बससहित बसका चालक सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–७ घर भई हाल काठमाडौंको माकलबारी बस्ने २८ वर्षीय सागर विक्रम थापालाई पनि नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।



कागजपत्र |
