
सिरहामा भारतीय कार पल्टिँदा एक युवकको मृत्यु, तीन जना घाइते
काठमाडौँ – गएराति सिरहामा भारतीय कार दुर्घटना हुँदा एक जना नेपाली युवकको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
दुर्घटनामा धनुषाको कमला नगरपालिका-१ का २२ वर्षीय धीरज मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।
चोहर्वाबाट सिरहा आउँदै गरेको बिआर०७ एएम ३०६३ नम्बरको कार राति ११ बजे नरहा गाउँपालिका(३ खोरियाटोलमा दुर्घटना भएको हो। तीव्र गतिका कारण चालकले नियन्त्रण गुमाउँदा कार पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा धनुषाको कमला नगरपालिका-१ का २० वर्षीय शुभलाल मण्डल, २२ वर्षीय रोशनलाल मण्डल र ७ वर्षीय बालक आयुष मण्डल घाइते भएका छन्।
घाइतेमध्ये शुभलालको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि विराटनगर लगिएको छ। बाँकी घाइतेको स्थानीय अस्पतालमै उपचार भइरहेको छ। दुर्घटनापछि चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
